
गुवाहाटी १९ जनवरी: अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले निरन्तर रूपमा विद्यार्थी, युवा र सृजनशील प्रतिभाहरूको पहिचान, संरक्षण तथा प्रवर्द्धन गर्दै आएको सन्दर्भमा आग्सु गोलाघाट जिल्ला समितिकी सचिव तथा विशिष्ट युवा कवि एनिशा घिमिरेले आकाशवाणी गुवाहाटीको लोकप्रिय कार्यक्रम ‘युवा वाणी’ मा सहभागिता हुदै आज मिति १९ जनुवारी साँझ ७:२० बजे प्रसारण भएको साहित्यिक कार्यक्रममा सहभागी भई आफ्ना मौलिक कविता वाचन गरिन।
आग्सु सधैं शैक्षिक, सामाजिक, सांस्कृतिक तथा साहित्यिक चेतनालाई समानान्तर रूपमा अघि बढाउने संगठनका रूपमा चिनिँदै आएको छ। संगठनले राजनीतिक र सामाजिक अधिकारका मुद्दासँगै युवा पुस्ताको सृजनात्मक क्षमता उजागर गर्न विशेष प्राथमिकता दिँदै आएको छ। यही अभियानको प्रतिफलस्वरूप आग्सुका विभिन्न तहमा आबद्ध युवाहरू आज राज्यस्तर र राष्ट्रियस्तरका मञ्चहरूमा आफ्नो पहिचान स्थापित गर्न सफल हुँदै गएका छन्। एनिशा घिमिरेको आकाशवाणी गुवाहाटी जस्तो प्रतिष्ठित सञ्चार माध्यममा सहभागिता हुनु आग्सुको यही दीर्घकालीन दृष्टिकोणको एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

एनिशा घिमिरे साहित्य, कविता र संगीतका विविध विधामा सक्रिय रहँदै आएकी एक सशक्त युवा स्रष्टा हुन्। उनका कविताहरूमा युवाको संवेदना, समाजका यथार्थ पक्ष, पहिचानको प्रश्न र मानवीय भावनाको गहिरो अभिव्यक्ति स्पष्ट रूपमा देख्न सकिन्छ। साहित्यिक यात्रामा निरन्तर साधनारत एनिशाले स्थानीय मञ्चहरूबाट सुरु गरेको आफ्नो सिर्जनात्मक अभ्यासलाई आज आकाशवाणी गुवाहाटीको कार्यक्रमसम्म पुर्याउन सफल भएकी छन्, जुन आग्सुजस्तो विद्यार्थी संगठनबाट नेतृत्व गर्दै आएकी एक युवतीका लागि मात्र होइन, समग्र गोर्खा समुदायका लागि पनि गौरवको विषय बनेको छ।
आग्सु गोलाघाट जिल्ला समितिले एनिशा घिमिरेको यस उपलब्धिलाई संगठनको लागि ऐतिहासिक र प्रेरणादायी उपलब्धिका रूपमा लिएको छ। समितिका अनुसार, विद्यार्थी संगठन केवल आन्दोलन र मागपत्रमा सीमित नभई समाज निर्माणका हरेक क्षेत्रमा युवालाई सक्षम बनाउने साझा मञ्च हो भन्ने सन्देश यस घटनाले प्रस्ट पारेको छ। आग्सुले सधैं युवाहरूलाई आफ्नो प्रतिभा निर्भीक रूपमा प्रस्तुत गर्न उत्प्रेरित गर्दै आएको र आगामी दिनमा पनि साहित्य, कला र संस्कृतिको संरक्षण तथा विकासमा यस्ता पहलहरूलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता दोहोर्याएको छ।
आकाशवाणी गुवाहाटीको ‘युवा वाणी’ कार्यक्रममा एनिशा घिमिरेद्वारा प्रस्तुत गरिने कविता केवल व्यक्तिगत उपलब्धि मात्र नभई आग्सुका हजारौँ विद्यार्थी सदस्यहरूको आशा, आवाज र सृजनात्मक चेतनाको प्रतिनिधित्वका रूपमा हेरिएको छ। यस सहभागिताले आग्सुबाट प्रेरित भएर साहित्यिक यात्रामा लागिरहेका अन्य युवाहरूलाई पनि नयाँ उचाइमा पुग्न हौसला प्रदान गर्ने विश्वास गरिएको छ।