All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #14
January 22, 2026

बालिपरा आञ्चलिक समितिको आयोजनामा बाबु डम्बर सिंह गुरुङको १२६औँ जन्मजयन्ती तथा सम्मान कार्यक्रमको तैयारी….

📅 January 22, 2026
✍️ AAGSU
🕒 12:06 AM

बालिपारा,१८ जानुवारी: अखिल असम गोर्खा छात्र संघ बालिपरा आञ्चलिक समितिको आयोजनामा भारतीय गोर्खा समाजका अग्रज नेता, राजनीतिज्ञ, कानुनविद् तथा समाजसेवी बाबु डम्बर सिंह गुरुङ ज्युको १२६औँ जन्मजयन्ती समारोह यही मिति २३ जनवरी २०२६ (शुक्रबार) का दिन शोणितपुर जिल्लाअन्तर्गत लोकरा, नया लाबरघारीमा आयोजना हुने भएको छ। सो अवसरमा “गाउँ प्रधान उमाध्वज छेत्री स्मृति सेवा सम्मान” तथा “गोर्खा ज्योति सम्मान” प्रदान कार्यक्रमसमेत सञ्चालन गरिने आयोजक समितिले जानकारी दिएको छ।
बाबु डम्बर सिंह गुरुङको जन्म २३ जनवरी १९०० मा पश्चिम बंगालको कालिम्पोङमा भएको थियो। उहाँ पेशाले कानुनविद् हुनुका साथै भारतीय गोर्खा समुदायका सशक्त राजनीतिक तथा सामाजिक अगुवाका रूपमा परिचित हुनुहुन्थ्यो। गोर्खा समुदायको संगठित राजनीतिक आवाज आवश्यक रहेको समय उहाँले सन् १९४३ मा अखिल भारतीय गोर्खा लिग (Akhil Bharatiya Gorkha League) स्थापना गर्नुभयो। उक्त पार्टीमार्फत उहाँले भारतीय गोर्खाहरूको अधिकार, पहिचान र प्रतिनिधित्वका सवाललाई राष्ट्रिय स्तरमा उठाउने ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो।
डम्बर सिंह गुरुङ भारतीय संविधान निर्माणको ऐतिहासिक प्रक्रियामा समेत सक्रिय रूपमा संलग्न रहनुभएको थियो। उहाँ भारतीय गोर्खा समुदायको प्रतिनिधित्व गर्दै भारतीय संविधान सभाका सदस्य रहनुभयो र सन् १९४८ मा आफ्नो निधन नहुँदासम्म संविधान सभामा सक्रिय योगदान दिनुभयो। संविधान निर्माणको संवेदनशील समयमा अल्पसंख्यक समुदायको आवाज उठाउँदै समानता, नागरिक अधिकार र सम्मानजनक पहिचानका पक्षमा उहाँले राखेका विचारहरू आज पनि स्मरणीय मानिन्छन्। उहाँको निधन ७ अप्रिल १९४८ मा भएको थियो, जसपश्चात् उहाँको स्थानमा आरी बहादुर गुरुङले संविधान सभामा प्रतिनिधित्व गर्नुभएको थियो।


बाबु डम्बर सिंह गुरुङ केवल राजनीतिमा सीमित व्यक्तित्व नभई समाज सुधार र सामाजिक चेतनाका अग्रदूतका रूपमा पनि चिनिनुहुन्छ। शिक्षा, कानुनी चेतना, सामाजिक एकता र आत्मसम्मान उहाँका प्रमुख सरोकारका विषय थिए। गोर्खा समाजलाई संगठित, शिक्षित र अधिकारप्रति सजग बनाउनुपर्छ भन्ने उहाँको दृष्टिकोणले पछिल्लो पुस्ताका धेरै सामाजिक तथा विद्यार्थी संगठनहरूलाई प्रेरणा दिएको देखिन्छ। १२६औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा बाबु डम्बर सिंह गुरुङको जीवन, राजनीतिक यात्रा, संविधान सभामा पुर्‍याएको योगदान तथा गोर्खा समाजप्रतिको उहाँको समर्पणबारे वक्ताहरूले विस्तृत रूपमा प्रकाश पार्ने कार्यक्रम रहेको छ। यस कार्यक्रममार्फत नयाँ पुस्तालाई भारतीय गोर्खा आन्दोलनको इतिहास र अग्रजहरूको योगदानबारे जानकारी गराउने उद्देश्य लिइएको आयोजक समितिले जनाएको छ।
कार्यक्रमअन्तर्गत “गाउँ प्रधान उमाध्वज छेत्री स्मृति सेवा सम्मान” समाजसेवामा निःस्वार्थ योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिनेछ। स्वर्गीय उमाध्वज छेत्रीको स्मृतिमा स्थापना गरिएको उक्त सम्मानले समाजसेवाको मूल्य र संस्कारलाई उजागर गर्ने विश्वास गरिएको छ। त्यसैगरी “गोर्खा ज्योति सम्मान” मार्फत शिक्षा, सामाजिक सेवा, सांस्कृतिक संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मानित गरिने कार्यक्रम रहेको छ।
अखिल असम गोर्खा छात्र संघ बालिपरा आञ्चलिक समितिले यस कार्यक्रमलाई बाबु डम्बर सिंह गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्ने मात्र नभई गोर्खा समाजको राजनीतिक चेतना, इतिहास र पहिचान स्मरण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। आयोजक समितिले समाजका बुद्धिजीवी, समाजसेवी, युवा, विद्यार्थी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अपिल गरेको छ।

प्रतिवेदन: खेम राज उपाध्याय- सभापति, बालिपारा आञ्चलिक समिति(आग्सु)।

📤 Share this story
Scroll to Top