
डेयाङमुख, ११ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) अमरेङ–कपिली आञ्चलिक समितिको आयोजनामा ११ अक्टोबर २०२६, आइतबारका दिन पश्चिम कार्बी आङ्लोङको डेयाङमुख उच्च विद्यालय खेलमैदानमा डम्बर थापा स्मृति एकदिवसीय अन्तर–शाखा नकआउट क्रिकेट प्रतियोगिता–२०२६ सफलतापूर्वक सम्पन्न भयो।
स्वर्गीय डम्बर थापाको पुण्यस्मृतिलाई सम्मान गर्दै विद्यार्थी तथा युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, अनुशासन र नेतृत्व क्षमताको विकास गर्ने तथा विभिन्न शाखाहरूबीच आपसी सद्भाव, भाइचारा र सङ्गठनात्मक एकता सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो। आञ्चलिक समितिअन्तर्गतका १३ शाखामध्ये १० शाखाका टोलीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।
प्रतियोगितामा जिरिबसा शाखाको जिरिबसा गोर्खा ११ टोली विजेता बन्न सफल भयो भने हावाइपुर शाखाको टोली उपविजेता बन्यो। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका जिरिबसा शाखाका रोशन छेत्रीलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो। उल्लेखनीय रूपमा, जिरिबसा गोर्खा ११ गत वर्षको विजेता टोलीसमेत रहेको र यस वर्ष पुनः उपाधि जित्दै लगातार दोस्रो वर्ष च्याम्पियन बन्न सफल भएको छ।
समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनुका साथै खेलाडीहरूलाई मेडलद्वारा सम्मानित गरियो। प्रतियोगितामा सहभागी अन्य शाखाहरूलाई पनि सहभागिता प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ।
यस प्रतियोगिताका लागि आवश्यक ट्रफी खरिद गर्न स्वर्गीय डम्बर थापाका सुपुत्र मनबहादुर थापाले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। पिताको स्मृतिमा आयोजित प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्याउनुभएकोमा आयोजक समितिले उहाँप्रति हार्दिक आभार व्यक्त गरेको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा आग्सु पश्चिम कार्बी आङ्लोङ जिल्ला समितिका सभापति गोपाल भट्टराई, उपसभापति अमित अधिकारी तथा हेल्थ सेक्रेटरी शरणलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी, समापन समारोहमा जिल्ला समितिका मूल–सचिव सोनी भुजेल, उपसभापति अमित अधिकारी, शरण तथा स्वर्गीय डम्बर थापाका सुपुत्र मनबहादुर थापाको गरिमामय उपस्थिति रहेको थियो।
प्रतियोगितामा ग्रेटर चेङ चेङ बिल, जेङ्खा, जिरिकिन्दिङ, राजादुबी–बागिसादुबी, डेयाङमुख, लाम्बापाथर, खेरलाजन, हावाइपुर, जिरिबसा र लाम्साखान शाखाका टोलीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न अम्पायरद्वय राम छेत्री र बिजय शर्माले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
आयोजक समितिका अनुसार यस प्रतियोगिताले विभिन्न शाखाहरूबीच आपसी सद्भाव, सहकार्य, अनुशासन र सङ्गठनात्मक एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याएको छ। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, सहभागी शाखा, अतिथि, अम्पायर, खेलप्रेमी दर्शक तथा सहयोगीहरूप्रति आग्सु अमरेङ–कपिली आञ्चलिक समितिले हार्दिक आभार व्यक्त गरेको छ। साथै, स्वर्गीय डम्बर थापाको स्मृतिलाई सम्मान गर्दै आगामी दिनहरूमा पनि युवा प्रतिभाको विकास र खेलकुद प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिवेदक : सन्तोष कार्की, मूल–सचिव, आग्सु अमरेङ–कपिली आञ्चलिक समिति