All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #52
•
October 15, 2026

वीर गोर्खा शहीदहरूको सम्मान तथा सङ्गठन सुदृढीकरणका लागि आग्सु सिलासुती आञ्चलिक समितिको महत्त्वपूर्ण पहल

📅 October 15, 2026
✍️ AAGSU
🕒 12:06 AM

ब्रह्मपुर, १० अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) सिलासुती आञ्चलिक समितिको पहलमा वीर गोर्खा शहीदहरूको त्याग, बलिदान र योगदानलाई चिरस्मरणीय बनाउने उद्देश्यका साथ शहीद वेदी निर्माण तथा सङ्गठनको सुदृढीकरणसम्बन्धी एक महत्त्वपूर्ण सभा १० अक्टोबर २०२६ का दिन ब्रह्मपुर विष्णु मन्दिर परिसरमा सम्पन्न भयो।

गोर्खा समाजको गौरवशाली इतिहास, पहिचान, अस्तित्व र स्वाभिमानको रक्षाका निम्ति आफ्नो अमूल्य जीवन समर्पण गर्ने वीर शहीदहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउनु साझा दायित्व भएको विषयमा सभामा विशेष जोड दिइयो। शहीदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै उहाँहरूको सम्मानमा शहीद वेदी निर्माण गर्ने उद्देश्यले आवश्यक योजना, सम्भावित कार्यदिशा तथा आगामी दिनमा सञ्चालन गर्नुपर्ने गतिविधिहरूबारे गम्भीर छलफल गरियो।

सभामा सङ्गठनलाई अझ सुदृढ, एकताबद्ध, अनुशासित र क्रियाशील बनाउने विषयमा समेत विचार–विमर्श गरियो। समाजमा विद्यमान विभिन्न समस्या तथा चुनौतीहरूको समाधानका लागि सामूहिक पहल, आपसी सहकार्य र सङ्गठनात्मक एकतालाई प्राथमिकता दिँदै अघि बढ्नुपर्ने आवश्यकतामाथि सहभागीहरूले जोड दिए।

उक्त सभामा अखिल असम गोर्खा छात्र संघ धेमाजी जिल्ला समितिका सभापति श्री सोमराज पुरीको गरिमामय उपस्थिति रहेको थियो। उहाँको उपस्थितिले सभालाई थप महत्त्वपूर्ण बनाउनुका साथै सङ्गठनको भावी कार्यदिशा र सामाजिक जिम्मेवारीप्रति सहभागीहरूलाई थप प्रेरित गरेको थियो।

यसका साथै सिलासुती आञ्चलिक समितिका सभापति श्री अरुण खतिवडा, सहसचिव श्री रोहित उपाध्याय, श्री भीम क्षेत्रीलगायत ब्रह्मपुर क्षेत्रका बुद्धिजीवी व्यक्तित्वहरू, युवा वर्ग तथा चेलीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सभाले वीर गोर्खा शहीदहरूको योगदानलाई सम्मान गर्दै इतिहास, पहिचान र स्वाभिमानको संरक्षणका लागि निरन्तर कार्य गर्ने तथा सङ्गठनलाई थप सशक्त बनाउँदै समाजको उज्ज्वल भविष्य निर्माणतर्फ सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धतालाई थप बल प्रदान गरेको छ।

प्रतिवेदक : अरुण खतिवडा, सभापति, आग्सु सिलासुती आञ्चलिक समिति

📤 Share this story
Scroll to Top