
सिमेन चापरी, ११ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) धेमाजी जिल्ला समितिअन्तर्गत सेरेन–सिमेन आञ्चलिक समितिको प्रतिनिधि सभा तथा शपथ ग्रहण समारोह ११ अक्टोबर २०२६ का दिन सिमेन चापरीस्थित गोर्खा भवन परिसरमा सफलतापूर्वक सम्पन्न भयो।
आञ्चलिक समितिका पूर्व सभापति श्री दिलबहादुर छेत्री तथा श्री महन विश्वकर्माको नेतृत्वमा रहेको पुरानो समितिको दुई कार्यकाल पूरा भई म्याद समाप्त भएपछि जिल्ला समितिको निर्देशनअनुसार प्रतिनिधि सभा तथा शपथ ग्रहण समारोह आयोजना गरिएको थियो।
प्रतिनिधि सभाले सर्वसम्मतिबाट श्री ओमप्रकाश छेत्रीलाई सभापति तथा श्री सुरज सिंह राईलाई साधारण सम्पादकको जिम्मेवारी प्रदान गर्दै ५५ सदस्यीय पूर्णाङ्ग तथा सुदृढ आञ्चलिक समिति गठन गरेको छ। नयाँ नेतृत्वको चयनसँगै समितिलाई थप सक्रिय, व्यवस्थित र सशक्त बनाउँदै सङ्गठनका उद्देश्य तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा आञ्चलिक समितिका सल्लाहकार मण्डली, विशिष्ट बुद्धिजीवी व्यक्तित्वहरू तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी, पर्यवेक्षकका रूपमा आग्सु धेमाजी जिल्ला समितिका उपसभापति श्री तिलक छेत्री, सङ्गठनिक सचिव श्री समीर परियार, श्री गणेश थापा, प्रचार सचिव श्री सुनील राई, शिक्षा सचिव श्री पुण्य रिजाल तथा संयम दस्ता प्रमुख श्री राम नेवारको गरिमामय उपस्थिति रहेको थियो।
प्रतिनिधि सभा तथा शपथ ग्रहण समारोहले सेरेन–सिमेन आञ्चलिक समितिको सङ्गठनात्मक संरचनालाई थप सुदृढ बनाउनुका साथै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। नयाँ समितिले सङ्गठनको एकता, अनुशासन र सक्रियतालाई प्राथमिकता दिँदै विद्यार्थी तथा गोर्खा समाजको हितमा कार्य गर्ने अपेक्षा गरिएको छ।
प्रतिवेदक : पुण्य रिजाल, शिक्षा सचिव, आग्सु धेमाजी जिल्ला समिति