
हिमाली (बाक्सा), ३० अगष्ट २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), हिमाली आञ्चलिक समिति अन्तर्गत देउराली शाखा समितिको पुनर्गठन सभा आरामपुर प्राथमिक विद्यालयको प्राङ्गणमा उत्साहपूर्ण वातावरणका बीच सम्पन्न भएको छ।
स्थानीयस्तरमा संगठनलाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आयोजित पुनर्गठन सभामा बाक्सा जिल्ला समिति तथा हिमाली आञ्चलिक समितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा बाक्सा जिल्ला समितिका मुखपत्र सचिव श्री पृथु पराजुली, हिमाली आञ्चलिक समितिका सभापति श्री प्रदीप राई, उपसभापति श्री अशोक निरौला, मूल–सचिव श्री अजय विश्वकर्मा, आरामपुर गाउँ उन्नयन समितिका उपदेष्टा श्री भीमप्रसाद भट्टराई तथा सदस्य श्री पिताम्बर गौतमलगायतको उपस्थिति रहेको थियो।
सभाका क्रममा संगठनको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा विद्यार्थी एवं युवाहरूको हितमा शाखा समितिले निर्वाह गर्नुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। संगठनको उद्देश्य, नीति तथा कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउँदै शैक्षिक, सामाजिक तथा संगठनात्मक गतिविधिलाई थप सशक्त बनाउने विषयमा जोड दिइएको थियो।
पुनर्गठन प्रक्रियाबाट श्री रोशन शर्माको सभापतित्वमा तथा श्री आशिष क्षेत्रीको मूल–सचिवत्वमा ३५ सदस्यीय देउराली शाखा समिति गठन गरिएको छ। नवगठित समितिले विद्यार्थी तथा युवाहरूलाई संगठित गर्दै नेतृत्व क्षमता विकास, शैक्षिक उन्नति तथा सामाजिक क्षेत्रमा सक्रिय सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नयाँ समितिको गठनसँगै देउराली शाखामा संगठनात्मक गतिविधिले थप गति लिने तथा स्थानीय विद्यार्थी र युवाहरूका विभिन्न सवाललाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
यस अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), हिमाली आञ्चलिक समितिले नव–निर्वाचित सभापति श्री रोशन शर्मा, मूल–सचिव श्री आशिष क्षेत्रीलगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल, सक्रिय, उपलब्धिमूलक एवं गौरवपूर्ण कार्यकालको शुभकामना व्यक्त गरेको छ।
प्रतिवेदक : श्रीमान प्रदीप राई, सभापति, हिमाली आञ्चलिक समिति, आग्सु