All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #8
December 11, 2025

धेमाजी जिलाको बर्धित कार्यकारिणी सभा सम्पन्न

📅 December 11, 2025
✍️ AAGSU
🕒 12:05 AM

धेमाजी,नवेम्बर 27: अखिल असम गोर्खा छात्र संघ (AAGSU) धेमाजी जिल्ला समितिको बर्धित कार्यकारिणी सभा आज मालिनिपुर आञ्चलिक समितिको मुख्य कार्यालय प्राङ्गणमा सम्पन्न भयो। गोर्खा समुदायको हक–अधिकार, संगठनात्मक सुदृढीकरण तथा आगामी योजनाहरूको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको यस कार्यकारिणी सभा अनुशासित वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रमको सभापतिको आसन जिल्ला समिति का सभापति सोमराज पुरी ज्यूले आलङ्कृत गर्नुभयो। उहाँले अघिल्ला कार्यक्रमहरूको सफलतासँगै संगठनलाई अझ सशक्त बनाउन निरन्तरता र एकता अपरिहार्य रहेको उल्लेख गर्दै सदैव जिम्मेवार ढङ्गले अघि बढ्न सबै पदाधिकारी तथा सदस्यहरूलाई आह्वान गर्नुभयो। सभामा संगठनको कार्यप्रगतिलाई अझै गतिशील बनाउन जिल्ला नेतृत्व सदैव प्रतिबद्ध रहेको धारणा उहाँले व्यक्त गर्नुभयो।

सभाको उद्देश्य व्याख्या मूल–सचिव दिलीप खनाल ज्यूले गर्नुभयो। सचिव खनालले विगत कार्यकारिणी सभामा पारित प्रस्तावहरू प्रस्तुत गर्दै तिनको प्रभावकारी कार्यान्वयनका लागि सबै आञ्चलिक समितिहरूबीच समन्वय र व्यवस्थित योजनाबद्धता आवश्यक रहेको उल्लेख गरे। उहाँले संगठनमा उदीयमान नेतृत्व, युवापुस्ताको सक्रियता र समुदाय–केन्द्रित कार्यक्रमको महत्त्वलाई विशेष जोड दिनुभयो।

उक्त सभामा उपस्थिति जनाउनुभएका अखिल असम गोर्खा छात्र संघका केन्द्रीय क्रीडा सचिव मोहन बिश्वकर्मा ज्यूले शुभेच्छामूलक मन्तव्य राख्दै संगठनको ५० वर्षे गौरवशाली यात्रामा धेमाजी जिल्लाको योगदान उल्लेखनीय रहेको बताउनुभयो। खेलकुदका माध्यमबाट संगठन–समुदायबीचको एकता अझ मजबुत हुने उहाँको धारणा रहेको थियो। उहाँले आगामी दिनहरूमा क्रीडा–सांस्कृतिक गतिविधिहरूलाई विस्तार गर्दै युवाहरूलाई संगठनतर्फ थप प्रेरित गर्न केन्द्रीय समितिको विशेष योजना रहेको जानकारी दिनुभयो।

यसैगरी सभामा उपस्थित मालिनिपुर, राखाना, तेलाम, सिमेन सेरेन तारि बस्ती, सिलासुती, सान्तिपुर, बर्लुगं लगायत विभिन्न आञ्चलिक समितिहरूका प्रतिनिधिहरूले आफ्ना–आफ्ना क्षेत्रका गतिविधिहरू, विगत महिनाहरूमा सम्पन्न कार्यक्रमहरू तथा आगामी दिनका कार्ययोजना प्रस्तुत गरे। उनीहरूले मानवअधिकार, भूमि समस्या, शिक्षाको पहुँच, स्थानीय निकायसँगको समन्वय, सदस्यता विस्तार, स्वर्णजयंती वर्षका कार्यक्रम तयारी तथा संगठनको आन्तरिक व्यवस्थापन सम्बन्धी विभिन्न बुँदाहरू सभामा राखेका थिए। साथै, कतिपय गाउँ–स्तरीय संरचनामा उत्पन्न भएका समस्या, सदस्यहरूको सक्रियता अभिवृद्धि तथा युवा परिचालनका चुनौतीहरू बारे पनि विस्तृत रिपोर्टिङ गरिएको थियो।

सभामा उठेका सुझाव र समस्याहरूलाई जिल्ला समितिले गम्भीरतापूर्वक ग्रहण गर्दै आगामी बैठकहरूमा नीति–निर्णयका रूपमा अघि बढाइने जानकारी सभापति पुरी ज्यूले दिनुभयो। उहाँले संगठनले सामुदायिक हितका मुद्दामा सशक्तरूपमा आवाज उठाइरहेको र सबै तह–तप्काका सदस्यहरूको सहभागिताले मात्र संगठन अझ प्रभावकारी हुने स्पष्ट पार्नुभयो।

एउटा सकारात्मक, समन्वित र परिणाममुखी वातावरणमा सम्पन्न धेमाजी जिल्ला समिति (AAGSU) को यो बर्धित कार्यकारिणी सभा संगठनलाई आगामी दिनमा अझ सक्षम, अनुशासित र समुदायमुखी रूपमा अघि बढाउने महत्त्वपूर्ण मञ्च बनेको देखियो।
र आग्सू को स्वर्ण जयंती शुभारम्भ समारोह लाई संगति राख्दै आग्सू धेमाजी जिल्ला समितीले उपसभापति जस्तै सोहित थापा लाई मालिनिपुर, सिलापथार र सिलासुती आन्चलिक
मिन प्रधान लाई -तेलाम, सिमेन सेरेन, डिमो आन्चलिक
तिलक क्षेत्री लाई राजा खाना, जनाई, तारी बस्ती आन्चलिक, खेम प्रधान लाई गोगामुख, महरिकेम्प, मास्खुआ आन्चलिक र मुल सचिव दिलिप खनाल लाई शान्तिपुर , बर्दलनी, बर्लुगं आन्चलिक मा जनजागरण साथै आर्थिक संग्रह गर्ने दायित्व अर्पण गर्दछ।

प्रतिवेदन: दिलिप खनाल-मूल-सचिव,धेमाजी जिला समिति(आग्सु)।

📤 Share this story
Scroll to Top