All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #32
May 28, 2026

खौराङमा आग्सुद्वारा शैक्षिक कार्यशाला तथा कृतिमान विद्यार्थी अभिनन्दन समारोह सम्पन्न

📅 May 28, 2026
✍️ AAGSU
🕒 12:06 AM

उदालगुड़ी, २४ मईः अखिल असम गोर्खा छात्र संघ (आग्सु), खौराङ आञ्चलिक समितिको पहलमा हिजो २३ मई २०२६ का दिन खौराङ आञ्चलिक समितिको कार्यालय समीप अवस्थित प्रतिष्ठित गोर्खा नाट्य रंगशाला, गोर्खा भवन, खौराङमा एक भव्य शैक्षिक कार्यशाला तथा कृतिमान छात्र–छात्रा अभिनन्दन समारोह सफलतापूर्वक सम्पन्न भएको छ। हालै घोषित उच्च माध्यमिक तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै गोर्खा समाजको गौरव बढाउने मेधावी विद्यार्थीहरूलाई सम्मानित गर्दै उनीहरूको भविष्यको शैक्षिक यात्रालाई मार्गदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

आग्सु खौराङ आञ्चलिक समितिका सभापति बिर बाहादुर छेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आञ्चलिक समितिका मूल सचिव अभिषेक महन्तले अतिथिहरूको परिचय गराउँदै कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाएका थिए भने शिक्षा सचिवद्वय ललित छेत्री र सन्तोष शर्माले अभिनन्दन कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा स्थानीय क्षेत्रका अभिभावक, शिक्षक, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस वर्षको परीक्षामा खौराङ क्षेत्रका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। उच्च माध्यमिक परीक्षामा कुनाल छेत्रीले ९१ प्रतिशत अंक प्राप्त गर्दै सम्पूर्ण खौराङ क्षेत्रमै सर्वोच्च अंक हासिल गर्न सफल भएका छन् भने सुश्री अदिती छेत्रीले मातृभाषा नेपाली विषयमा शतप्रतिशत अर्थात् १०० मा १०० अंक प्राप्त गरी विशेष प्रशंसा बटुलेकी छन्। कार्यक्रममा उच्च माध्यमिक परीक्षामा प्रथम विभागमा उत्तीर्ण ११ जना तथा उच्चतर माध्यमिक परीक्षामा प्रथम विभाग प्राप्त २२ जना गरी कुल ३३ जना कृतिमान विद्यार्थीहरूलाई अभिनन्दन पत्र तथा सम्मान प्रदान गरी विशेष रूपमा सम्मानित गरिएको थियो। कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूको सफलताले सम्पूर्ण गोर्खा समाजलाई गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी पुस्तालाई पनि शिक्षातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।

अभिनन्दन समारोह पश्चात आयोजित शैक्षिक कार्यशालामा बर्सोला उच्चतर माध्यमिक विद्यालयका विषय शिक्षक लक्ष्मण उपाध्यायले विद्यार्थीहरूलाई उच्च शिक्षाका विभिन्न अवसर, भविष्यको करियर चयन, प्रतिस्पर्धात्मक परीक्षाको तयारी तथा वर्तमान समयमा सीपमूलक शिक्षा र प्रविधिको महत्त्वबारे विस्तृत जानकारी गराएका थिए। उनले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण गरी निरन्तर अध्ययन र अनुशासनमार्फत सफलता प्राप्त गर्न सकिने प्रेरणादायी सन्देश दिएका थिए।

कार्यक्रममा मुख्य अतिथिको रूपमा आग्सु उदालगुड़ी जिल्ला समितिका मूल सचिव किशोर सिर्पालीको उपस्थिति रहेको थियो। साथै अतिथिका रूपमा आग्सु उदालगुड़ी जिल्ला समितिका शिक्षा सचिव रूपम आत्रिय, दीपक अधिकारी, उपसभापति दुर्गा बस्नेत, प्रचार सचिव तिलक गौतम, समाजसेवी तथा पूर्व छात्रकर्मी तोयानाथ दाहाल, गाउँ प्रधान किशोर सिर्पाली, गोल्मागाउँ उच्च माध्यमिक विद्यालयकी विषय शिक्षिका सुभद्र उपाध्याय, असम गोर्खा सम्मेलन उदालगुड़ी जिल्ला समितिका सचिव शान्ता सिर्पाली लगायत अभिभावक तथा स्थानीय जनमानसहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनतर्फ आयोजक समितिले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि विद्यार्थीहरूको शैक्षिक उन्नयन तथा व्यक्तित्व विकासका लागि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको थियो।

प्रतिवेदक: नारायण छेत्री- सचिव, खौराङ आञ्चलिक समिति ।

📤 Share this story
Scroll to Top