
तेलाम, २२ जुलाई: अखिल असम गोर्खा छात्र संघ (आग्सु) तेलाम आञ्चलिक समितिको आयोजनामा ग्रीष्मकालीन निःशुल्क पाठदान कार्यक्रम “EduFest 4.0” को उद्घाटन समारोह २२ जुलाई २०२६ का दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। सन् २०१३ देखि निरन्तर सञ्चालन हुँदै आएको यस शैक्षिक अभियानले यस वर्ष चौथो संस्करणमा प्रवेश गर्दै विद्यार्थीहरूको शैक्षिक विकासप्रति संगठनको प्रतिबद्धतालाई पुनः स्थापित गरेको छ।
कार्यक्रममा वक्ताहरूले अखिल असम गोर्खा छात्र संघको मूल उद्देश्य नै शिक्षा, विद्यार्थीको सर्वाङ्गीण विकास र गुणस्तरीय शैक्षिक वातावरण निर्माण रहेको उल्लेख गरे। वर्तमान शैक्षिक परिवेशमा धेरै विद्यार्थी पाठ्यक्रममा पछाडि पर्नुका साथै आगामी परीक्षाको तयारीमा समेत कठिनाइ भोगिरहेका कारण EduFest जस्ता निःशुल्क शैक्षिक कार्यक्रमको आवश्यकता अझ बढ्दै गएको धारणा व्यक्त गरियो। यस अभियानले विद्यार्थीहरूको अध्ययन क्षमता अभिवृद्धि गर्दै उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा EduFest 1.0 देखि EduFest 4.0 सम्म निरन्तर निस्वार्थ रूपमा सेवा प्रदान गर्दै आएका सम्पूर्ण शिक्षक-शिक्षिकाप्रति विशेष सम्मान प्रकट गरिएको थियो। गोर्खा विद्यार्थीप्रति उहाँहरूको समर्पण, माया र शिक्षाप्रतिको निष्ठाले सम्पूर्ण समाजका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै आयोजक समितिले हार्दिक कृतज्ञता व्यक्त गरेको छ। यस्ता समर्पित शिक्षकहरूको संख्या सम्पूर्ण असमभरि बढ्दै गएमा गोर्खा समाजले शिक्षाको क्षेत्रमा अझ उल्लेखनीय उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।
उद्घाटन समारोहमा आग्सु धेमाजी जिल्ला समितिका शिक्षा सचिव पुण्य रिजाल, विशिष्ट अतिथिहरू, शिक्षक-शिक्षिका, पत्रकार, सामाजिक व्यक्तित्व, संगठनका पदाधिकारी तथा ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। आयोजक समितिले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि EduFest अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रतिवेदक : राम बहादुर विश्वकर्मा, मूल–सचिव, तेलाम आञ्चलिक समिति।