
उदालगुडी, ३ जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी जिल्ला समितिको बर्धित कार्यकारिणी सभा जिल्ला समितिको मुख्य कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला समितिका सभापति राम छेत्रीको सभापतित्वमा सम्पन्न उक्त सभाको सञ्चालन जिल्ला समितिका मुल सचिव किशोर सिर्पालीले गर्नुभएको थियो।
सभामा सङ्गठनका विविध पक्षहरूबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी सांगठनिक सुदृढीकरण, शैक्षिक गतिविधि तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विषयहरूमा गहन विचार-विमर्श गरिएको थियो। साथै, जिल्ला समितिले प्रत्येक वर्षझैँ यस वर्ष पनि आगामी ७ जुन २०२६ का दिन “स्वर्गीय दीपक दाहाल स्मृति आदर्श छात्र पुरस्कार–२०२६” तथा विशेष अभिनन्दन अनुष्ठान भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ।
उक्त सभामा अखिल असम गोर्खा छात्र संघ, बिटिसि क्षेत्रीय समितिका वित्त सचिव मणिराज छेत्रीको विशेष उपस्थिति रहेको थियो। उहाँले सङ्गठनलाई अझ प्रभावकारी, गतिशील तथा सशक्त बनाउने विषयमा महत्वपूर्ण सुझाव तथा परामर्श व्यक्त गर्नुभयो।
सभामा जिल्ला समितिका उपसभापति, सहसचिव, शिक्षा सचिव, सांगठनिक सचिव, प्रचार सचिव, कार्यकारिणी सदस्यहरू लगायत जिल्ला समिति अन्तर्गतका ६ वटा आञ्चलिक समितिका सभापति, मुल सचिव तथा आञ्चलिक नेतृत्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभाको अन्त्यमा आगामी दिनहरूमा विद्यार्थी, शिक्षा तथा समाजको हितमा केन्द्रित कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सभा सम्पन्न भएको जिल्ला समितिले जनाएको छ।
प्रतिवेदक: सन्जय छेत्री- मूल-सचिव, टंला आञ्चलिक समिति ।