
डिगबोई, ३० मइ २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिगबोई महाविद्यालय एकाईको आयोजनामा सन् २०२६ मा डिगबोई महाविद्यालयबाट अध्ययन पूरा गरी बिदाई लिने छात्र–छात्राहरूको सम्मानमा विदाई समारोह तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा डिगबोई महाविद्यालय आग्सु एकाईका सभापति गोविन्द कार्की छेत्री र मूल–सचिव अनुज उपाध्यायले आफ्नो कार्यकालको अन्तिमपटक सभाको सञ्चालन तथा नेतृत्व गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनिसुकिया जिल्ला समितिका सदस्य शिवु छेत्री उपस्थित हुनुभएको थियो। उहाँले आफ्नो सम्बोधनका क्रममा विद्यार्थी जीवनको महत्त्व, संगठनप्रतिको उत्तरदायित्व तथा समाज निर्माणमा युवाहरूको भूमिकाबारे प्रकाश पार्दै बिदाई लिने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।
त्यसपछि सभापति गोविन्द कार्की छेत्री तथा मूल–सचिव अनुज उपाध्यायले आफ्नो कार्यकालका अनुभव, संगठनले हासिल गरेका उपलब्धिहरू तथा आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउने अपेक्षाबारे मन्तव्य राख्नुभयो। उहाँहरूले सम्पूर्ण सदस्य तथा विद्यार्थीहरूको सहयोगप्रति आभार व्यक्त गर्दै आग्सुको उद्देश्य र आदर्शलाई निरन्तर अगाडि बढाइरहन आग्रह गर्नुभयो।
कार्यक्रमको अर्को महत्वपूर्ण चरणमा बिदाई लिने सम्पूर्ण विद्यार्थीहरूले एक–एक गरी आफ्नो अनुभव, स्मरणीय क्षण तथा भविष्यका योजनाहरू साझा गर्नुभयो। वक्ताहरूले डिगबोई महाविद्यालयमा बिताएका दिनहरूलाई जीवनका अमूल्य क्षणको रूपमा स्मरण गर्दै आग्सुले प्रदान गरेको अवसर, नेतृत्व विकास तथा सामाजिक चेतनाको लागि कृतज्ञता व्यक्त गर्नुभयो।
यसै अवसरमा डिगबोई महाविद्यालय आग्सु एकाईको सन् २०२५–२०२६ प्रतिनिधि सभाको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको घोषणा गरियो। साथै आगामी सन् २०२६–२०२७ कार्यकालका लागि नयाँ प्रतिनिधि सभा गठन गर्ने सम्बन्धमा महत्वपूर्ण प्रस्ताव पारित गरियो। उक्त प्रस्तावअनुसार रमेश अधिकारीलाई सभापति तथा खेमराज लिम्बुलाई मूल–सचिवको नेतृत्वमा आगामी महिनाभित्र नयाँ प्रतिनिधि सभा गठन गरिने निर्णय गरिएको छ।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उपस्थित विद्यार्थी तथा सदस्यहरूले बिदाई लिने विद्यार्थीहरूको सफल भविष्यको कामना गर्दै नयाँ नेतृत्वलाई संगठनलाई अझ सुदृढ र प्रभावकारी ढंगले अगाडि बढाउन शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमले पुरानो कार्यसमितिको सफल कार्यकाललाई सम्मानपूर्वक समापन गर्नुका साथै नयाँ नेतृत्वको मार्ग प्रशस्त गरेको सहभागीहरूले बताएका छन्।
प्रतिवेदक: गोविन्द छेत्री- सभापति, डिगबोई महाविद्यालय इकाइ।