All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #36
June 25, 2026

आग्सु, गहपुर आञ्चलिक समितिको अभिनन्दन सभा भव्यताका साथ सम्पन्न

📅 June 25, 2026
✍️ AAGSU
🕒 12:04 AM

गहपुर, २० जुन : अखिल असम गोर्खा छात्र संघ (आग्सु) गहपुर आञ्चलिक समितिको आयोजनामा गहपुर गोर्खा चौकस्थित गोर्खा विकास भवन प्राङ्गणमा एक भव्य अभिनन्दन सभा सफलता पूर्वक सम्पन्न भएको छ। विद्यार्थी, अभिभावक, शिक्षाविद्, समाजसेवी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थी समुदाय र गोर्खा समाजबीच नयाँ उत्साह तथा सकारात्मक सन्देश प्रवाह गरेको छ।

कार्यक्रमको शुभारम्भ दीप प्रज्वलनमार्फत गरिएको थियो। स्थानीय प्रतिष्ठित समाजसेवी मित्रलाल शर्माले बन्ती प्रज्वलकका रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। असम नेपाली साहित्य सभाका केन्द्रीय सभापति लीला तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा आग्सु गहपुर आञ्चलिक समितिका सभापति सुमन उपाध्यायले स्वागत मन्तव्यसहित कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा अखिल असम गोर्खा छात्र संघका केन्द्रीय मूल–सचिव नुमल छेत्री प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै विश्वनाथ जिल्ला समितिका सभापति सुनिल सुतार, मूल–सचिव नवदीप छेत्री, शिक्षा सचिव नुमल भट्टराई, उप-सभापति सूर्य कार्की तथा तरुण उपाध्याय, सांस्कृतिक सचिव संगीता अधिकारी, धेमाजी जिल्ला समितिका सभापति सोमराज पुरी तथा गहपुर आञ्चलिक समितिका प्राक्तन सभापति गंगा छेत्री लगायत विभिन्न जिल्लाबाट आएका छात्र नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

त्यसैगरी कार्यक्रममा असम गोर्खा सम्मेलन गहपुर जिल्ला समितिका उप-सभापति तथा युवा व्यवसायी किशोर छेत्री, समाजसेवी नन्द शर्मा, गहपुर जिल्ला समितिका कार्यकारी सदस्य देवेन छेत्री, साहित्यकार तथा शिक्षाविद् जगनाथ उपाध्याय, नेत्र खनाल, कलाबारी महाविद्यालयका अध्यक्ष दीपक बरा तथा गोल्ड स्टेन इङ्लिस स्कुलका प्रतिष्ठापक अध्यक्ष दीप शर्मा लगायत थुप्रै विशिष्ट व्यक्तित्व तथा बुद्धिजीवीहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नुमल छेत्रीले विद्यार्थीहरूको शैक्षिक उन्नति तथा भविष्य निर्माणप्रति संगठन सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूको शैक्षिक अधिकारको संरक्षण तथा समस्याको समाधानका लागि आग्सु सधैं अग्रपङ्क्तिमा रहने उल्लेख गर्दै कुनै पनि विद्यार्थीलाई अध्ययनको क्रममा समस्या भोग्न नदिन संगठनले आवश्यक पहल गरिरहने विश्वास व्यक्त गर्नुभयो।

आफ्नो सम्बोधनका क्रममा उहाँले अभिभावकहरूको भूमिकामाथि विशेष जोड दिँदै वर्तमान समयका चुनौतीहरूलाई सामना गर्न विद्यार्थीहरूलाई उचित मार्गदर्शन र सकारात्मक वातावरण प्रदान गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले आजका विद्यार्थीहरू नै भोलिका जिम्मेवार नागरिक, समाजसेवी तथा नेतृत्वदायी व्यक्तित्व हुने भएकाले शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्वप्रति सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभयो।

सभामा बोल्ने अन्य अतिथिहरूले पनि विद्यार्थी संगठनको भूमिका, समाज निर्माणमा शिक्षाको महत्व तथा गोर्खा समुदायको समग्र विकासमा युवाहरूको सक्रिय सहभागिताबारे आफ्ना विचार राखेका थिए। वक्ताहरूले संगठनलाई अझ बलियो, प्रभावकारी र जनमुखी बनाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमभरि विद्यार्थी तथा युवा सहभागीहरूमा उत्साहजनक वातावरण देखिएको थियो। उपस्थित अतिथिहरूले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेका व्यक्तिहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै समाज र संगठनको प्रगतिका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

भव्य रूपमा सम्पन्न उक्त अभिनन्दन सभाले विद्यार्थी समुदाय, अभिभावक तथा गोर्खा समाजबीच शिक्षा, संगठन र सामाजिक उत्तरदायित्वप्रतिको चेतनालाई थप मजबुत बनाएको विश्वास गरिएको छ। कार्यक्रमले स्थानीय स्तरमा आग्सुको संगठनात्मक गतिविधि तथा विद्यार्थी हितप्रतिको प्रतिबद्धतालाई समेत पुनः स्थापित गरेको सहभागीहरूले बताएका छन्।

प्रतिवेदक: निरज छेत्री- प्रचार सचिव, गहपुर आञ्चलिक समिति ।

📤 Share this story
Scroll to Top