All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #36
June 25, 2026

रोशनी छेत्रीलाई न्यायको माग गर्दै आग्सुको नेतृत्वमा विशाल विरोध र्‍याली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

📅 June 25, 2026
✍️ AAGSU
🕒 12:04 AM

शोणितपुर, २० जुन: दिवंगत बहिनी रोशनी छेत्रीको रहस्यमय मृत्यु घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै अखिल असम गोर्खा छात्र संघ (आग्सु) शोणितपुर जिल्ला समितिको पहलमा शनिबार मंगलबरेया सेन्टरमा विशाल विरोध र्‍याली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न गोर्खा संगठनहरू, जनजातीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत आयोजित विरोध र्‍यालीमा सहभागीहरूले “रोशनीलाई न्याय देऊ”, “दोषीलाई कडा सजाय देऊ”, “न्याय बिना शान्ति हुँदैन” लगायतका नाराहरू लगाउँदै घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका थिए। र्‍यालीपछि आयोजित सभामा वक्ताहरूले रोशनी छेत्रीको मृत्यु घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा प्रस्तुत गर्दै सत्यतथ्य बाहिर ल्याउन प्रशासनले कुनै प्रकारको ढिलासुस्ती नगर्नुपर्ने धारणा राखे।

सभालाई सम्बोधन गर्ने वक्ताहरूले घटनाका मुख्य आरोपी अपु बरा (मुण्डा) उर्फ प्रिन्सका पिता गाउँ रक्षा दल (VDP) का सचिव तथा जामुगुरिहाट प्रहरी चौकीको थाना समितिमा महत्वपूर्ण जिम्मेवारीमा रहेको विषयप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले आफ्नै सन्तानलाई उचित शिक्षा, संस्कार तथा सही मार्गदर्शन दिन नसक्ने व्यक्तिले समाजलाई अपराधमुक्त र सुरक्षित बनाउने जिम्मेवारीमा रहनु उचित नहुने तर्क प्रस्तुत गर्दै सम्बन्धित व्यक्तिलाई तत्काल सबै सामाजिक तथा प्रशासनिक जिम्मेवारीबाट हटाइनुपर्ने माग गरे।

वक्ताहरूले न्याय प्राप्तिको प्रक्रियामा कुनै प्रकारको प्रभाव, दबाब वा संरक्षण हुन नहुने स्पष्ट पार्दै अनुसन्धान निष्पक्ष, पारदर्शी र प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनीहरूले रोशनी छेत्रीको परिवारलाई न्याय दिलाउन सम्पूर्ण समाज एकजुट भएर उभिनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा उपस्थित विभिन्न सामाजिक तथा जातीय संगठनका प्रतिनिधिहरूले पनि आफ्नो धारणा राख्दै दोषीलाई संरक्षण गर्ने वा अनुसन्धान प्रक्रियामा लापरवाही देखिएमा व्यापक जनआन्दोलनको मार्ग अवलम्बन गर्न बाध्य हुने चेतावनी दिएका थिए। उनीहरूले न्यायका लागि भइरहेको आन्दोलन कुनै पनि हालतमा नरोकिने र अन्तिम निष्कर्ष नआएसम्म निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरे।

यसै क्रममा जिल्ला आयुक्त महोदयलाई भेट गरी घटनाको निष्पक्ष अनुसन्धान तथा दोषीमाथि कडा कारबाहीको मागसहित स्मरणपत्र बुझाउने जानकारी आयोजकहरूले दिएका छन्। स्मरणपत्रमार्फत घटनाको सम्पूर्ण सत्य बाहिर ल्याउन र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न प्रशासनलाई आग्रह गरिने बताइएको छ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले दीप प्रज्वलन गरी दिवंगत रोशनी छेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। दीपको उज्यालोसँगै उपस्थितहरूले उनको आत्माको चिरशान्तिको कामना गर्दै न्याय प्राप्तिको सङ्कल्प दोहोर्याएका थिए। सहभागीहरूले समाजका सबै वर्गलाई न्याय र सत्यको पक्षमा एकजुट हुन आह्वान गर्दै रोशनी छेत्रीको घटनाले सम्पूर्ण समाजलाई झक्झक्याएको बताएका थिए।

मंगलबरेया सेन्टरमा सम्पन्न उक्त विरोध प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रमले न्यायको पक्षमा गोर्खा समाजको एकता, प्रतिबद्धता र दृढ संकल्पलाई पुनः उजागर गरेको छ। सहभागीहरूले रोशनी छेत्रीलाई न्याय नपाएसम्म आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिवेदक: चन्द्र गौतम- सचिव, शोणितपुर जिल्ला समिति।

📤 Share this story
Scroll to Top