
बामूनजुली, १६ अगस्ट २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सू) नवगठित केन्द्रीय समितिका मूल सचिव श्रीमान सोमराज सोनार तथा सांस्कृतिक सचिव श्रीमान त्रिदेव बिष्ट ज्यू आज बामूनजुली आञ्चलिक समितिको कार्यालयमा उपस्थित हुनुभयो। उहाँहरूको आगमनको अवसरमा बामूनजुली आञ्चलिक समितिको तर्फबाट स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरी शुभेच्छा व्यक्त गरिएको थियो।
कार्यक्रममा मूल सचिव सोमराज सोनार ज्यूको कुशल नेतृत्वमा संगठन अझ सुदृढ, संगठित र एकताबद्ध हुँदै जाने तथा गोर्खा जातिका विभिन्न समस्या र अधिकारका विषयमा संगठनले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरियो। त्यसैगरी, सांस्कृतिक सचिव त्रिदेव बिष्ट ज्यूको सक्रिय नेतृत्व र योगदानबाट गोर्खाली भाषा, कला, साहित्य, संगीत तथा सांस्कृतिक पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा महत्वपूर्ण कार्य हुने अपेक्षा व्यक्त गरिएको थियो।
उहाँहरू दुवैलाई नयाँ जिम्मेवारीका लागि बामूनजुली आञ्चलिक समितिको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो।
कार्यक्रममा गोर्खाली कला तथा संस्कृतिका वरिष्ठ साधक कलाकार राम राई, ‘गोर्खे सलाम प्रोडक्सन’का संस्थापक राजीव तामाङ, ‘ढ्याङ्ग्रो प्रोडक्सन’का प्रमुख कार्यकारी अधिकृत पंकज काश्यप, गोर्खाली चलचित्र क्षेत्रका उदीयमान कलाकारहरू, उदालगुडी जिल्ला समितिका शिक्षा सचिव रुपम आत्रेय, कार्यकारिणी सदस्य गोविन्द छेत्री, डिमाकुची आञ्चलिक समितिका सभापति तथा मूल सचिव, बामूनजुली आञ्चलिक समितिका उपदेष्टा, आञ्चलिक तथा शाखा समितिका पदाधिकारी एवं कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिवेदक: भानु लामा, मूल सचिव, बामूनजुली आञ्चलिक समिति अखिल असम गोर्खा छात्र संघ (आग्सू)।