All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #10
December 25, 2025

गोर्खा च्याम्पियन्स लिग: गोरखा युवालाई फुटबलको उज्यालो मञ्च

📅 December 25, 2025
✍️ AAGSU
🕒 12:06 AM

आग्सु गारामपानी आञ्चलिक समितिको नेतृत्वमा सञ्चालन हुँदै आएको गोर्खा च्याम्पियन्स लिग (फुटबल प्रतियोगिता) विगत पाँच वर्षदेखि निरन्तर रूपमा गारामपानी नेपाली बस्ती खेलमैदानमा आयोजना हुँदै आएको छ। ५ अगस्ट २०२१ बाट सुरु भएको यस प्रतियोगिता १६ नोभेम्बर २०२५ सम्म निरन्तर सञ्चालन हुँदै आउनु आफैंमा गोरखा समाजका लागि गौरवको विषय बनेको छ।
यो प्रतियोगिताको सुरुवात गर्दा जम्मा ६ वटा टिमले मात्र सहभागिता जनाएका थिए। तर समयसँगै यसको लोकप्रियता बढ्दै गएपछि सन् २०२५ सम्म आइपुग्दा विभिन्न गोरखा गाउँ तथा क्षेत्रबाट ठूलो संख्यामा टिमहरूको सहभागिता देखिन थालेको छ। यसले गोर्खा युवाहरूमा खेलप्रति बढ्दो उत्साह र सम्भावनालाई स्पष्ट रूपमा उजागर गरेको छ।
आञ्चलिक समिति का सभापति प्रकाश शर्मा र मूल–सचिव गोविन्द बहादुर छेत्रीको अगुवाइमा गोर्खा च्याम्पियन्स लिगले एउटा महत्वपूर्ण उद्देश्य बोकेको छ। गोर्खा युवाहरूमा फुटबलप्रति अपार प्रतिभा हुँदाहुँदै पनि उपयुक्त मञ्चको अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै यो प्रतियोगिता सुरु गरिएको हो। उनीहरूको दूरदर्शी सोच र निरन्तर प्रयासले आज धेरै गोर्खा युवाहरूले आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन्।
यस अभियानलाई सफल बनाउन आग्सु गारामपानी आञ्चलिक समितिका अन्य सहकर्मीहरू रोहित छेत्री, कमल शर्मा, गौतम लामा, रुक्मिणी शर्मा तथा विशाल जोशीको महत्वपूर्ण भूमिका रहेको छ। सबैको सामूहिक पहल र समर्पणका कारण आज गोर्खा च्याम्पियन्स लिग केवल एउटा स्थानीय प्रतियोगिता मात्र नभई गोर्खा युवाहरूको पहिचान बनिसकेको छ।
यस प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सफल खेलाडीहरू पनि उत्पादन भएका छन्। लाक्पा लामा हाल शिलङ लाजोङ एफसीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् र उनी गोर्खा च्याम्पियन्स लिगकै उत्पादन हुन्। त्यस्तै राकेश प्रधान, जसले हिरो आई.एस.एल. खेल्ने अवसर प्राप्त गरेका छन्, उनी पनि प्रत्येक वर्ष गोर्खा च्याम्पियन्स लिगमा सहभागी हुँदै आएका थिए। यी उदाहरणहरूले यो प्रतियोगिताको महत्व र प्रभावलाई स्पष्ट रूपमा देखाउँछन्।
यस लिगलाई आग्सु डिमा हासाओ जिल्ला समितिले पनि निरन्तर सहयोग गर्दै आएको छ। आग्सु डिमा हासाओका पूर्व सभापति जीवन शर्मा ज्यूको योगदान यस प्रतियोगिताप्रति विशेष रूपमा स्मरणीय रहेको छ। साथै केन्द्रीय आग्सुका कार्यकारिणी सदस्य दिलिप छेत्री ज्यूले पनि प्रत्येक वर्ष यस प्रतियोगितालाई निरन्तर सहयोग पुर्‍याउँदै आउनुभएको छ।
समग्रमा, गोर्खा च्याम्पियन्स लिग गोर्खा समाजका युवाहरूको खेलकुद भविष्य निर्माण गर्ने एउटा सशक्त मञ्च बनेको छ। निरन्तरता, समर्पण र सामूहिक प्रयासको प्रतिफलस्वरूप यो प्रतियोगिताले आगामी दिनहरूमा अझ ठूलो उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

प्रतिवेदन: गोविन्द बहादुर छेत्री:मूल-सचिव- गरमपानी आञ्चलिक समिति (आग्सु)।

📤 Share this story
Scroll to Top