
गुवाहाटी, अक्टोबर १४: गुवाहाटी विश्वविद्यालयमा सम्पन्न स्नातकोत्तर विद्यार्थी संघ (PGSU) निर्वाचन २०२५–२६ मा अखिल असम गोर्खा छात्र संघ (AAGSU) का उम्मेदवारहरूले ऐतिहासिक सफलता हासिल गरेका छन्। असमभरका गोर्खा विद्यार्थीहरूको साझा संगठन AAGSU–गुवाहाटी विश्वविद्यालय इकाइका दुई उम्मेदवारहरूले निर्णायक विजय हात पारेका हुन्। अखिल असम गोर्खा छात्र संघ (AAGSU), गुवाहाटी विश्वविद्यालय इकाईका उप-सभापति श्री आयुष गौतम — Sports Secretary र सांगठनिक सचिव श्री चिन्टु थापा — Social Service Secretary पदमा निर्वाचित हुनुभएको हो। दुवै जनाले उल्लेखनीय मतान्तरले प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै विजय प्राप्त गरेका छन्, जसले गुवाहाटी विश्वविद्यालयमा गोर्खा विद्यार्थीहरूको सशक्त उपस्थितिको पुनः पुष्टि गरेको छ।
AAGSU–गुवाहाटी विश्वविद्यालय इकाइका सभापति सुभंकर काफ्ले र मूल-सचिव देबाशिष क्षेत्रीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा यस विजयलाई “गोर्खा विद्यार्थीहरूको एकता, समर्पण र सशक्त प्रतिनिधित्वको प्रतिबिम्ब” भनेर वर्णन गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यो सफलता हाम्रो समुदायको मूल मूल्य र विद्यार्थीहरूको सामूहिक प्रतिबद्धताको प्रमाण हो।”
संघले सबै सदस्यहरू, समर्थकहरू र मतदाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भन्यो कि यो विजय AAGSU सदस्यहरूको अनुशासित भूमिकाको प्रतिफल हो। अब नवनिर्वाचित पदाधिकारीहरूले विद्यार्थी समुदायका हितका लागि सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
AAGSU–गुवाहाटी विश्वविद्यालय इकाइका का सभापति सुभंकर काफ्लेले भने, “एकता नै हाम्रो शक्ति हो, र प्रतिनिधित्व हाम्रो लक्ष्य।” उहाँले थपे, “यो विजयले गुवाहाटी विश्वविद्यालयमा गोर्खा विद्यार्थीहरूको आवाज अझ सबल र सम्मानित बनाउनेछ।”
यस ऐतिहासिक विजयले सम्पूर्ण गोर्खा विद्यार्थी समाजमा नयाँ ऊर्जा, आत्मबल र गौरवको भावना भरिएको छ। गुवाहाटी विश्वविद्यालयमा गोर्खा विद्यार्थीहरूको सहभागिता र प्रभावशील उपस्थितिले समुदायको सामूहिक प्रगतिलाई अझ बलियो बनाएको अनुभूति गराएको छ।
दुवै जनाको यो उल्लेखनीय उपलब्धिमा सम्पूर्ण गोर्खा विद्यार्थी समाज गर्वान्वित छ। तपाईंहरूको आगामी कार्यकाल सफल, उद्देश्यपूर्ण र प्रेरणादायी रहोस् भन्ने शुभकामना!