
दुलीयाजान,बीहुतली २५दिसेम्वर: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को स्वर्ण जयन्ती वर्षको शुभारम्भ समारोह आगामी २६ र २७ डिसेम्बर २०२५ का दिन दुईदिने भव्य तथा ऐतिहासिक कार्यक्रमको तयारी सम्पन्न भै सकेको छ । पाँच दशक लामो संगठनात्मक संघर्ष, उपलब्धि, त्याग र योगदानलाई स्मरण गर्दै आयोजना गरिने यस समारोहलाई गोर्खा समाजको ऐक्यबद्धता, आत्मसम्मान र भावी दिशानिर्देशनको महत्वपूर्ण मोडका रूपमा लिइएको छ। उक्त कार्यक्रममा असम तथा उत्तर–पूर्वाञ्चलका विभिन्न राज्यबाट करिब एक लाख गोर्खा जनताको सहभागिता रहने अनुमान गरिएको छ।
कार्यक्रमको पहिलो दिन २६ डिसेम्बरको बिहान ठीक ८ः३० बजे झण्डोत्तोलन कार्यक्रमका साथ औपचारिक शुभारम्भ गरिने छ। आग्सुको मूल झण्डोत्तोलन संघका सभापति श्रीमान सुनील छेत्रीले गर्नु हुने छ। स्वर्ण जयन्ती वर्षको प्रतीकस्वरूप एकैसाथ ५० वटा झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरिने छ, जसमा आग्सुका पूर्व सभापति, पूर्व मूल–सचिव तथा विभिन्न कालखण्डका सम्माननीय अग्रज व्यक्तित्वहरूको गरिमामय सहभागिता रहने छ। स्वागतकारिणी समितिको झण्डोत्तोलन समितिका सभापति श्री प्रेम बहादुर छेत्रीज्युलो गर्नु हेनेछ।
बिहान ९ बजे जातीय अधिकार, पहिचान र आत्मसम्मानका लागि आत्माहुति दिने ज्ञात तथा अज्ञात वीर शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली तथा स्मृति तर्पण कार्यक्रम आयोजना गरिने छ। कार्यक्रम आग्सुका सम्माननीय मूल–सचिव श्रीमान नुमल छेत्री तथा स्वागतकारिणी समितिका मूल–सचिव श्री रत्न थापाको नेतृत्वमा सम्पन्न हुने छ। त्यसपछि उपस्थित सम्पूर्ण प्रतिनिधि तथा सहभागीहरूले क्रमशः शहीदहरूप्रति स्मृति तर्पण अर्पण गर्नेछन्।
बिहान ९ः३० बजे सुधाकण्ठ डा. भूपेन हजारिकाको प्रतिमामा माल्यार्पण स्वागतकारिणी समितिका कार्यकारी सभापति श्री जापान थापाले गर्नु हुने छ भने दिवंगत लोकप्रिय कलाकार जुविन गर्गको प्रतिचित्रमा माल्यार्पण कार्यकारी सभापति श्री प्राञ्जल शर्माले गर्नु हुने छ। बिहान १० बजे वृक्ष रोपण कार्यक्रम सञ्चालन गरिने छ। १०ः३० बजे जनगोष्ठी तथा सांस्कृतिक प्रदर्शनीको उद्घाटन स्थानीय समाजकर्मी श्री शंकरज्योति बरुवाले गर्नु हुने छ। बिहान १०ः४५ बजे डा. सी. के. दत्ता द्वारा स्वास्थ्य शिविर उद्घाटन गरिने छ।
बिहान ठीक ११ बजे आग्सुका प्रतिष्ठापक सभापति डा. हर्क बहादुर छेत्रीले मूल मञ्चको उद्घाटन गर्नु हुने छ भने भोजनालय गृहको उद्घाटन श्री मुक्ति छेत्रीले गर्नु हुने छ। त्यसपछि ११ः३० बजे डिब्रुगढ जिल्ला आग्सुका पूर्व सभापति श्री दिबाकर शर्माको बाहुलीबाट सांस्कृतिक प्रदर्शनी तथा बिक्री–विपणन स्टलहरूको उद्घाटन सम्पन्न गरिने छ।
दिउँसो १२ः१५ बजे आग्सुका नयाँ तथा पुराना सबै तहका कार्यकर्तालाई समेट्दै “स्वर्ण मिलन” नामक ऐतिहासिक तथा गम्भीर चिन्तन सम्मेलन आयोजना गरिने छ। सम्मेलनमा केन्द्रिय तहका सबै पूर्व सभापति र पूर्व मूल–सचिवहरू विशेष सम्माननीय अतिथिका रूपमा सहभागी हुनु हुने छ भने पूर्व आग्सु कर्मीहरू सम्माननीय अतिथिका रूपमा उपस्थित रहने छन्। सम्मेलनमा स्वर्ण जयन्ती वर्षभरि सञ्चालन गरिने कार्यक्रम तथा समापन समारोहलाई राष्ट्रिय स्तरको कसरी बनाउने भन्ने विषयमा विस्तृत छलफल गर्दै आवश्यक समिति गठन गरिने छ।

साँझ ४ बजे असममा क्रियाशील विभिन्न जातीय–जनगोष्ठीय छात्र संगठनहरूको सहभागितामा “जातीय–जनगोष्ठीय छात्र ऐक्य सम्मेलन” आयोजना गरिने छ। उक्त सम्मेलनमा डिब्रुगढ विश्वविद्यालयका उपकुलपति डा. जितेन हजारिका प्रमुख अतिथिका रूपमा उपस्थित रहनु हुने छ भने अखिल असम छात्र संघका मूल–सचिव श्रीमान समिरण फुकन तथा असम जातीयतावादी युवा छात्र परिषद्का सभापति श्रीमान पालाख सांगमाइ विशिष्ट अतिथिका रूपमा सहभागी हुनु हुने छ। सम्मेलनमा असम राज्यका समसामयिक ज्वलन्त मुद्दामाथि गम्भीर र सारगर्भित छलफल गरिने छ।
साँझ ६ बजे कलाश्री विनोद खनालको सञ्चालनमा गोर्खा महाजाति अन्तर्गत पर्ने सबै जातीय–जनगोष्ठीहरूको सांस्कृतिक नृत्य प्रस्तुति गरिने छ। राति ९ बजे डा. भूपेन हजारिकाको स्मृतिमा आयोजना हुने भव्य सांस्कृतिक सन्ध्याको उद्घाटन मार्घेरिटा विधान सभा क्षेत्रका माननीय विधायक श्री भास्कर शर्माले गर्नु हुने छ, जसमा आमन्त्रित प्रख्यात कलाकारहरूद्वारा गीत तथा नृत्य प्रस्तुति गरिने छ।
दोस्रो दिन अर्थात् २७ डिसेम्बरको बिहान ८ बजे सामूहिक सरसफाइ अभियान सञ्चालन गरिने छ। बिहान १० बजे सबै जातीय–जनगोष्ठीहरूको परम्परागत भेषभूषासहित भव्य सांस्कृतिक शोभायात्रा निकालिने छ, जसको उद्घाटन डिब्रुगढ जिल्लाका आयुक्त श्री विक्रम कोइरीले गर्नु हुने छ। दिउँसो १ बजे आयोजना हुने विशाल आमसभामा असमका माननीय मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा मूख्य अतिथिका रूपमा सहभागी हुनु हुने छ। साथै १००८ महामण्डलेश्वर बाबा कालिदास कृष्णानन्द परमहंसजी विशेष सम्माननीय अतिथिका रूपमा उपस्थित रहनु हुने छ। कार्यक्रममा केन्द्र तथा राज्य सरकारका जनप्रतिनिधि, विभिन्न सामाजिक संगठनका केन्द्रिय नेतृत्व, वरिष्ठ व्यक्तित्व, छिमेकी राज्यका गोर्खा नेतृत्व तथा विशिष्ट महानुभावहरूको गरिमामय उपस्थिति रहने छ।

कार्यक्रमको सफल सञ्चालन, व्यवस्थापन र अनुशासित परेडका लागि केन्द्रिय प्रतिष्ठापक स्वयंसेवक दस्ता प्रमुख श्री केशव पाण्डेय, केन्द्रिय स्वयंसेवक दस्ता प्रमुख श्री कुमार लिम्बु, उदालगुरी जिल्ला समिति दस्ता प्रमुख श्री पेम्बा तामाङ तथा धेमाजी जिल्ला समिति दस्ता प्रमुख श्री रमेन डागलबाको तत्त्वावधानमा उदालगुरी, धेमाजी, तिनसुकिया, डिब्रुगढ र शिवसागर जिल्ला समितिका ३०० भन्दा बढी स्वयंसेवकहरूलाई विगत २० दिनदेखि परेड प्रशिक्षण प्रदान गरिँदै आएको छ, जसले सम्पूर्ण कार्यक्रमको भव्यता र अनुशासनलाई थप मजबुत बनाएको छ।
२७ डिसेम्बरसम्म सञ्चालन हुने आग्सुको स्वर्ण जयन्ती शुभारम्भ समारोहले संगठनको गौरवमय इतिहासलाई सम्मान गर्दै आग्सुलाई अझ सुदृढ, अनुशासित र जनमुखी संगठनका रूपमा अघि बढाउने दृढ संकल्पका साथ भविष्यतर्फ अग्रसर हुने स्पष्ट सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
प्रतिवेदन: सोमराज सोनार, प्रचार सचिव (आग्सु)।