All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #19
February 26, 2026

स्वतन्त्र सेनानी सहिद मेजर दुर्गा मल्लको प्रतिमूर्तिको भव्य विमोचन।

📅 February 26, 2026
✍️ AAGSU
🕒 12:01 AM

विश्वनाथ, २२ फेब्रुअरी २०२६ । अखिल असम गोर्खा छात्र संघ विश्वनाथ जिल्ला समितिको आयोजनामा कुहिँयारबारीस्थित जिल्ला कार्यालय परिसरमा स्वतन्त्र सेनानी सहिद मेजर दुर्गा मल्लको प्रतिमूर्तिको विमोचन कार्यक्रम सम्पन्न भएको छ। गोर्खा समाजको इतिहास र बलिदानलाई चिरस्मरणीय बनाउने उद्देश्यले स्थापित उक्त प्रतिमूर्ति लोकार्पण समारोह गरिमामय वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघका पुर्व सभापति तथा हालका गोर्खा उन्नयन परिसदका सम्माननीय अध्यक्ष श्रीमान् प्रेम तामाङ र बिहाली समष्टिका माननीय विधायक श्रीमान् दिगन्त घाटूवाल को बाहुलीबाट प्रतिमूर्तिको अनावरण गरिएको थियो। अनावरणपछि राष्ट्रगान र सहिदप्रति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। उपस्थित अतिथिहरूले सहिद मेजर दुर्गा मल्लको योगदानको चर्चा गर्दै उनको बलिदानले गोर्खा समुदायलाई स्वाभिमान र देशभक्तिको मार्गमा सदैव प्रेरित गरिरहने विश्वास व्यक्त गरे।
सहिद मेजर दुर्गा मल्ल भारतीय स्वतन्त्रता संग्रामका वीर सेनानीमध्ये एक प्रमुख व्यक्तित्व हुन्। उनीले ब्रिटिश शासनविरुद्ध संघर्ष गर्दै आफ्नो अमूल्य जीवन राष्ट्रका निम्ति अर्पण गरेका थिए। उनको बलिदान भारतीय इतिहासमा अमिट छापका रूपमा अंकित रहेको छ। कार्यक्रमका वक्ताहरूले आजको पुस्ताले सहिदहरूको इतिहास बुझेर समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
समारोहमा गोर्खा उन्नयन परिसदका सम्माननीय उपाध्यक्ष श्रीमान् राम दाहाल, सम्माननीय कार्यकारिणी सदस्य तथा अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिका पुर्व मूल-सचिव श्रीमान् संजीव छेत्री, अखिल असम गोर्खा छात्र संघका केन्द्रीय उपसभापति श्रीमान् दिलीप गजुरेल, विश्वनाथ जिल्ला समितिका सभापति श्रीमान् सुनील सुतार, असम गोर्खा सम्मेलनका सभापति श्रीमान् हरि शर्मा तथा संपादक श्रीमान् हेमन्त भट्टराईको विशेष उपस्थिति रहेको थियो। साथै अखिल असम गोर्खा छात्र संघ बाघमारा आंचलिक समितिका सभापति, संपादक तथा अन्य पदाधिकारीहरू, समाजसेवी, बुद्धिजीवी र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आफ्नो सम्बोधनमा श्रीमान् प्रेम तामाङले सहिदहरूको सम्मान गर्नु मात्र औपचारिकता नभई हाम्रो ऐतिहासिक कर्तव्य भएको उल्लेख गर्दै युवापुस्तालाई आफ्नो पहिचान र इतिहासप्रति सजग रहन आग्रह गरे। विधायक श्रीमान् दिगन्त घाटवारले विश्वनाथ जिल्लामा यस्ता ऐतिहासिक पहलले गोर्खा समुदायको एकता र आत्मविश्वासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। केन्द्रीय उपसभापति श्रीमान् दिलीप गजुरेलले संगठनले सदैव सामाजिक, शैक्षिक र ऐतिहासिक चेतनाको पक्षमा काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
विश्वनाथ जिल्ला समितिका सभापति श्रीमान् सुनील सुतारले प्रतिमूर्ति स्थापना कार्यमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्दै यो स्थानलाई ऐतिहासिक स्मारक स्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। कार्यक्रममा असम गोर्खा सम्मेलनका सभापति श्रीमान् हरि शर्मा र संपादक श्रीमान् हेमन्त भट्टराईले पनि सहिदहरूको योगदानको संरक्षण र प्रचार–प्रसारमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
उक्त कार्यक्रम शान्त, अनुशासित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। प्रतिमूर्ति अनावरणसँगै विश्वनाथ जिल्लामा गोर्खा समुदायको ऐतिहासिक गौरवलाई संस्थागत रूपमा स्थापित गर्ने महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ। उपस्थित सबैले सहिद मेजर दुर्गा मल्लको आदर्शलाई आत्मसात गर्दै समाज र राष्ट्रप्रति समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिवेदक: उमेश शर्मा -प्रचार सचिव (IT Incharge) विश्वनाथ जिल्ला समिति ( AAGSU)

📤 Share this story
← First Story in Issue
Scroll to Top