
फूलबारी, खौराङ 30 जुलाई : अखिल असम गोर्खा छात्र संघ (आग्सु) खौराङ आञ्चलिक समिति अन्तर्गत फूलबारी शाखा समितिको आयोजनामा उच्च तथा उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई अभिनन्दन पत्र सहित सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
आग्सु फूलबारी शाखा समितिका सभापति नन्दलाल विश्वकर्मको सभापतित्व र मुल सचिव कमल छेत्रीको सञ्चालित कार्यक्रममा यस वर्ष उच्च तथा उच्चतर माध्यमिक परीक्षामा सफल भएका विद्यार्थीहरूलाई अभिनन्दन पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । वक्ताहरूले विद्यार्थीहरूको मेहनत, लगनशीलता र उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर प्रगति गर्न शुभकामना व्यक्त गरेका थिए। साथै शिक्षाको माध्यमबाट समाज र राष्ट्र निर्माणमा युवापुस्ताको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरिएको थियो।
यसै अवसरमा आग्सु फूलबारी शाखा समितिको पुरानो कार्यसमितिलाई विधिवत् विघटन गरी नयाँ शाखा समिति गठन गरिएको छ । उपस्थित जिल्ला र आञ्चलिक समितिका पदाधिकारी, वुद्धिजीवी, तथा आमाहरूको सर्वसम्मत निर्णय अनुसार पुरानो समितिलाई नै बाहाल राखी पुनः श्री नन्दलाल विश्वकर्मा सभापति तथा श्री कमल छेत्री मूल सचिवमा चयन गरिएको छ साथै अन्य पदाधिकारी तथा सदस्यहरूलाई समेत समेटेर एक सशक्त, सक्रिय र दर्बिलो शाखा समिति गठन गरिएको आयोजक पक्षले जनाएको छ।
नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै आग्सुका नेताहरूले संगठनलाई अझ प्रभावकारी, गतिशील तथा जनमुखी बनाउँदै विद्यार्थी, युवा तथा गोर्खा समुदायको शैक्षिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि समर्पित भएर कार्य गर्न आग्रह गरेका थिए। नवगठित समितिले पनि संगठनको उद्देश्य र आदर्शलाई आत्मसात् गर्दै समाज तथा विद्यार्थी हितमा सक्रियतापूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा आग्सु उदालगुड़ी जिल्ला समितिका प्रचार सचिव तिलक गौतम, कार्यालय सचिव राम बस्नेत, आञ्चलिक समितिका उप सभापति तेज विश्वकर्म, मूल सचिव अभिषेक महन्त, स्वयंसेवक प्रमुख निशान महन्त, खेल सचिव अवन सिर्पाली उपदेष्टा तथा वुद्धिजीवी लिला गुरुङ, चन्द्र प्रसाद उपाध्याय, लाल बाहादुर मगर र आमा समुह साथै स्थानीय जन-मानशहरू उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ ।
प्रतिवेदक: श्री नारायण दाहाल, सचिव, खौराङ आञ्चलिक समिति ।