
तीनसुकिया, १७ मे २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु) तीनसुकिया जिल्ला समितिको आयोजनामा तथा गोर्खा नारी परिषद् तीनसुकिया जिल्ला समितिको सहयोगमा डिगबोई महिला महाविद्यालयको प्रेक्षागृहमा एक भव्य विशेष अभिनन्दन तथा सम्मान समारोह सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा यस वर्षको HSLC तथा HS परीक्षामा ८० प्रतिशतभन्दा माथि अङ्क हासिल गरी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका तीनसुकिया जिल्लाका करिब १२० जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
समाजमा शैक्षिक चेतना अभिवृद्धि गर्नुका साथै प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम अत्यन्त उल्लासमय वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रमको प्रारम्भ दीप प्रज्वलन तथा स्वागत मन्तव्यद्वारा गरिएको थियो। उपस्थित अतिथि, अभिभावक, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूलाई आयोजक समितिको तर्फबाट हार्दिक स्वागत गरिएको थियो।
कार्यक्रम सभापति देव गुरुङको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने उद्देश्य व्याख्या आग्सु तीनसुकिया जिल्ला समितिका मूल–सचिव शंकर जैसीले गर्नुभएको थियो। कार्यक्रममा शिक्षा सचिव खेम बहादुर छेत्रीले सभालाई सम्बोधन गर्दै विद्यार्थीहरूको सफलताले सम्पूर्ण गोर्खा समाजलाई गौरवान्वित बनाएको उल्लेख गर्नुभयो। उहाँले निरन्तर मेहनत, अनुशासन तथा सकारात्मक सोचद्वारा जीवनमा अझ उच्च सफलता हासिल गर्न विद्यार्थीहरूलाई प्रेरणा दिनुभयो।
समारोहमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्र समितिका मूल–सचिव नुमल छेत्री निर्दिष्ट वक्ताको रूपमा उपस्थित हुनुहुन्थ्यो भने Our ABC Academy का M.D. डा. शैलेश शर्मा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। यसका साथै प्रसिद्ध चिकित्सक रश्मिता उपाध्याय, विभिन्न विद्यालय तथा महाविद्यालयका शिक्षक-शिक्षिका, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा विभिन्न जातीय छात्र संगठनका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा सम्मानित विद्यार्थीहरूलाई गोर्खा समुदायको परम्परागत गामोचा, खादा, प्रमाणपत्र, मोमेन्टो तथा अभिनन्दन पत्र प्रदान गरी सम्मान जनाइएको थियो। वक्ताहरूले विद्यार्थीहरूको अथक परिश्रम, लगनशीलता तथा अनुशासनको खुलेर प्रशंसा गर्दै शिक्षा नै उज्ज्वल भविष्यको आधार भएको धारणा व्यक्त गर्नुभयो। साथै, शिक्षित युवा शक्तिले समाज तथा राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिइएको थियो।
सभापति देव गुरुङले आफ्नो सम्बोधनमा विद्यार्थीहरू नै समाजका भविष्यका कर्णधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा थप आत्मविश्वास र प्रेरणा जगाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि आग्सुले शैक्षिक, सामाजिक तथा रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने गोर्खा नारी परिषद् तीनसुकिया जिल्ला समितिप्रति विशेष आभार प्रकट गर्नुभयो।
कार्यक्रमभरि सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले वातावरणलाई अझ आकर्षक र उल्लासमय बनाएको थियो। उपस्थित अभिभावकहरूले पनि आयोजक समितिको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई समाजप्रति जिम्मेवार र आत्मविश्वासी बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
यसरी शिक्षा, सम्मान र प्रेरणाले भरिएको अखिल असम गोर्खा छात्र संघ (आग्सु) तीनसुकिया जिल्ला समितिको विशेष अभिनन्दन समारोह अत्यन्त सभ्य, भव्य तथा सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।
प्रतिवेदक: मिलन अधिकारी- सभापति, माकुम आञ्चलिक समिति।