All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #31
May 21, 2026

आग्सुको सक्रिय भूमिकाबीच अखिल असम गोर्खा दमाई समाजको पहिलो द्वि-वार्षिक अधिवेशन सम्पन्न

📅 May 21, 2026
✍️ AAGSU
🕒 12:04 AM

निकासी, बाक्सा, १७ मई: अखिल असम गोर्खा दमाई समाजको पहिलो द्वि-वार्षिक अधिवेशन बाक्सा जिल्लाको निकासिमा गत १६ र १७ मई २०२६ मा भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। दुईदिने अधिवेशनले समाजको संगठनात्मक सुदृढीकरणसँगै असमका गोर्खा समुदायभित्र सामाजिक एकता, अधिकार चेतना र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने सन्देश दिएको छ। अधिवेशनबाट श्री मदन रनपहेँली सभापति तथा श्री सञ्जीव मगर दमाई मूल–सचिव पदमा निर्वाचित भएका छन्।

उक्त अधिवेशनको सम्पूर्ण गतिविधिमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) को सक्रिय, जिम्मेवार तथा संगठित भूमिकाले विशेष महत्व प्राप्त गरेको थियो। अधिवेशनलाई सफल बनाउन आग्सुको बाक्सा जिल्ला समिति, हिमाली आञ्चलिक समिति तथा बाक्सा आञ्चलिक समिति सुरुदेखि नै व्यवस्थापन तथा समन्वय कार्यमा निरन्तर सक्रिय रहेका थिए। कार्यक्रमस्थल व्यवस्थापनदेखि आगन्तुक प्रतिनिधिहरूको स्वागत, आवास तथा समन्वयसम्मका विविध जिम्मेवारीहरू आग्सुका कार्यकर्ताहरूले अत्यन्त अनुशासित ढंगले निर्वाह गरेका थिए।

असमका विभिन्न जिल्ला समितिहरूबाट अधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूको बसोबास तथा आवश्यक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आग्सु बाक्सा जिल्ला समितिले सम्हालेको थियो। यस कार्यले आग्सुको संगठनात्मक क्षमता, जिम्मेवारीबोध तथा सामाजिक प्रतिबद्धतालाई थप उजागर गरेको उपस्थित प्रतिनिधिहरूले बताएका थिए।

१७ मईमा सम्पन्न आमसभामा आग्सुको तर्फबाट केन्द्रीय सांगठनिक सचिव श्री प्रकाश कोइराला, बिटिसि क्षेत्रीय समितिका मूल–सचिव श्री राजु सुवेदी, बाक्सा जिल्ला समितिका नवनिर्वाचित सभापति श्री दीपेन्द्र कार्की तथा पूर्व सभापति श्री पारसमणि पराजुलीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले गोर्खा समुदायभित्रको सामाजिक एकता र साझा अधिकार आन्दोलनलाई सुदृढ बनाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

आफ्नो सम्बोधनमा आग्सुका केन्द्रीय सांगठनिक सचिव श्री प्रकाश कोइरालाले कामि, दमाई तथा सार्की समुदायलाई असममा अनुसूचित जाति (SC) को मान्यता दिलाउने आन्दोलनप्रति आग्सु प्रारम्भदेखि नै प्रतिबद्ध रहेको उल्लेख गर्दै “SC Demand Committee” को पक्षमा आग्सु सदैव उभिने बताए। उनले आगामी दिनहरूमा पनि अधिकार प्राप्तिको आन्दोलनमा निरन्तर साथ, सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे। उनको अभिव्यक्तिले कार्यक्रममा सहभागी प्रतिनिधि तथा समुदायका सदस्यहरूलाई उत्साहित बनाएको थियो।

१७ मईको साँझ आयोजित सांस्कृतिक सन्ध्याको अवसरमा आग्सु बाक्सा जिल्ला समितिले नवनिर्वाचित सभापति श्री मदन रनपहेँली तथा मूल–सचिव श्री सञ्जीव मगर दमाईलाई ढाकाटोपी र खादा अर्पण गर्दै सम्मान जनाएको थियो। साथै, नवनिर्वाचित सम्पूर्ण समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सशक्त, संगठित र प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरिएको थियो।

अधिवेशनको पहिलो दिन १६ मईमा सरसफाइ अभियान तथा झण्डोत्तोलन कार्यक्रममार्फत औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरिएको थियो। त्यसपछि शैक्षिक कार्यशाला तथा ‘ मन्थन प्रज्ञा’ जस्ता बौद्धिक कार्यक्रमहरू आयोजना गरिएका थिए, जसमा विभिन्न सामाजिक अगुवा, शिक्षाविद् तथा विशिष्ट व्यक्तिहरूले सहभागिता जनाउदै हामी गोर्खा एक भएर बाच्ने हाम्रो लक्ष हुन जरुरी छ भन्ने वार्ता दिनु हुन्छ । कार्यक्रममा सामाजिक चेतना, शिक्षा, संगठनात्मक विकास तथा समुदायको भविष्यबारे विस्तृत छलफल भएको थियो।

यसैगरी, अधिवेशन अवधिभर सांस्कृतिक शोभायात्रा, स्थानीय कलाकारहरूद्वारा गीत–संगीत तथा पारम्परिक नृत्य प्रस्तुत गरिनुका साथै विभिन्न सांस्कृतिक झाँकीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। १७ मईमा सम्पन्न आमसभामा असम विधानसभाका विधायक श्री मनेश्वर ब्रह्म मुख्य अतिथिका रूपमा सहभागी भई दमाई समुदायका हक–अधिकारका विषयलाई विधानसभासम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

समग्र रूपमा हेर्दा, अखिल असम गोर्खा दमाई समाजको पहिलो द्वि-वार्षिक अधिवेशन केवल संगठनात्मक कार्यक्रम मात्र नभई गोर्खा समुदायभित्र सामाजिक न्याय, समान अधिकार र एकताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण मञ्चका रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्। आग्सुको सक्रिय सहभागिता र सहकार्यले अधिवेशनलाई थप व्यवस्थित, प्रभावकारी तथा ऐतिहासिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा कार्यक्रमभर सुनिएको थियो।

प्रतिवेदक: पवन सोनारी- सुचना एवं प्रविधि सचिव, बाक्सा जिल्ला समिति।

📤 Share this story
Scroll to Top