
बामुनजुली, १ जुलाई२०२६: विद्यार्थीहरूको शैक्षिक, बौद्धिक तथा सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै अखिल असम गोर्खा छात्र संघ (आग्सु) बामुनजुली आञ्चलिक समितिको आयोजनामा कक्षा ९ र १० का विद्यार्थीहरूका लागि एकमहिने निःशुल्क ग्रीष्मकालीन पाठदान कार्यक्रम आजदेखि रेनबो इङ्ग्लिस स्कुलमा औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
उद्घाटन कार्यक्रममा आग्सु उदालगुरी जिल्ला समितिका शिक्षा सचिव रूपम आत्रेय, बामुनजुली आञ्चलिक समितिका पदाधिकारी तथा कार्यकर्ताहरू, शिक्षकवर्ग र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
एक महिना सम्म सञ्चालन हुने उक्त कार्यक्रममा समीर प्रधान र जयन्त दासले शिक्षकका रूपमा जिम्मेवारी निर्वाह गर्नेछन्। कार्यक्रममा बामुनजुली आञ्चलिक समिति अन्तर्गतका रेनबो इङ्ग्लिस स्कुल, आदर्श जातीय विद्यालय तथा लक्ष्मीनाथ बेजबरुवा हाई स्कुलका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ।
विद्यार्थीहरूले ग्रीष्मकालीन बिदाको सदुपयोग गर्दै शैक्षिक ज्ञान अभिवृद्धि गर्न, आगामी परीक्षाको तयारीलाई प्रभावकारी बनाउन तथा उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
यस शैक्षिक अभियानका लागि विद्यालय परिसर उपलब्ध गराई सहयोग पुर्याएकोमा रेनबो इङ्ग्लिस स्कुलका प्रिन्सिपल छत्र छेत्रीप्रति आञ्चलिक समितिले आभार व्यक्त गरेको छ। साथै कार्यक्रमको सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यार्थीहितका यस्ता रचनात्मक तथा गुणस्तरीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रतिवेदक: श्री भानु लामा, मुल सचिव, आग्सु, बामुन्जुली आञ्चलिक समिति।