All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #57
•
November 19, 2026

बामुनजुली आञ्चलिक समितिको आयोजनामा नोनाइखुटीमा सम्पन्न हुने १६औँ वार्षिक रमाइलो तिहार समारोहको अस्थायी कार्यालय उद्घाटन

📅 November 19, 2026
✍️ AAGSU
🕒 12:06 AM

नोनाइखुटी, ७ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुली आञ्चलिक समितिको आयोजनामा तथा नोनाइखुटी शाखा समितिको सहयोगमा आगामी २९ नोभेम्बर २०२६ मा नोनाइखुटीमा आयोजना हुन गइरहेको १६औँ वार्षिक रमाइलो तिहार समारोहको अस्थायी कार्यालय आज विधिवत् रूपमा उद्घाटन गरिएको छ।

उक्त उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा आग्सु उदालगुरी जिल्ला समितिका मूल सचिव श्री रुपम आत्रेय उपस्थित रहनुभएको थियो। त्यसैगरी जिल्ला समितिका प्रचार सचिव श्री पदम राउत, स्वास्थ्य विभाग संयोजक श्री मनीष लिम्बू तथा सह-सांस्कृतिक सचिव श्री गोविन्द छेत्रीको समेत गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले रमाइलो तिहार समारोह गोर्खा समुदायको मौलिक कला, संस्कृति, परम्परा तथा सामाजिक एकतालाई संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण साझा मञ्च भएको धारणा व्यक्त गर्नुभयो। यस्ता सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, साहित्य, संस्कृति र पहिचानप्रति जागरूक बनाउनुका साथै समुदायबीच आपसी सद्भाव, भाइचारा र एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिले आवश्यक तयारी तथा व्यवस्थापकीय कार्यलाई तीव्रता दिएको जनाएको छ। अस्थायी कार्यालय उद्घाटनसँगै समारोहको तयारीले थप गति लिने अपेक्षा गरिएको छ।

यस अवसरमा आयोजक समितिले उद्घाटन कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य समय, साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण अतिथि, अग्रज, अभिभावक, शुभचिन्तक तथा स्थानीय महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

साथै, आगामी २९ नोभेम्बरमा आयोजना हुने १६औँ वार्षिक रमाइलो तिहार समारोहलाई भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण गोर्खा समुदाय, सांस्कृतिकप्रेमी तथा शुभेच्छुकहरूमा सक्रिय सहभागिता, साथ र सहयोगका लागि आयोजक समितिले हार्दिक अपिल गरेको छ।

प्रतिवेदक: भानु लामा, मूल सचिव, बामुन्जुली आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top