
राजगढ़, १७ नोभेम्बरः काजिरङ्गा–रङ्गाजान क्षेत्रमा भएको दुःखद सडक दुर्घटनामा अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण दिवङ्गत आत्माहरूको स्मृतिमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), राजगढ़ आञ्चलिक समितिको तर्फबाट श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। उक्त कार्यक्रममार्फत दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो।
कार्यक्रममा दुर्घटनामा दिवङ्गत भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै मौन श्रद्धाञ्जली अर्पण गरिएको थियो। यस दुःखद घटनाले सम्पूर्ण क्षेत्रका जनमानसलाई स्तब्ध बनाएको भन्दै उपस्थित व्यक्तिहरूले मृतक परिवारले भोगिरहेको पीडाप्रति सहानुभूति व्यक्त गरे। साथै, दुर्घटनामा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूलाई आवश्यक उपचार र स्वास्थ्य सुधारका लागि प्रार्थना गरिएको थियो।
उक्त श्रद्धाञ्जली कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु), केन्द्रीय समितिका कार्यकारी सदस्य सुनिल सुतार, विश्वनाथ जिल्ला समितिका सह–सचिव विवेक खतिवडा, सांगठनिक सचिव अजय सुब्बा, राजगढ़ आञ्चलिक समितिका उप–सभापतिसहित समितिका विभिन्न पदाधिकारी तथा सदस्यहरू र राजगढ़ क्षेत्रका स्थानीय जनमानसको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै शोकको यस घडीमा पीडित परिवारसँग एकजुट भएर साथ र सहानुभूति प्रकट गरेका थिए।
आग्सु राजगढ़ आञ्चलिक समितिले यस्ता दुःखद घटनामा समाजका सबै वर्ग एकजुट भई पीडित परिवारलाई भावनात्मक साथ प्रदान गर्नु आवश्यक रहेको उल्लेख गर्दै मृतकहरूको स्मृतिप्रति सम्मान व्यक्त गरेको छ। श्रद्धाञ्जली कार्यक्रमले मानवीय संवेदना, सामाजिक एकता र दुःखमा परेका परिवारप्रति सामूहिक सहानुभूतिको भावना अभिवृद्धि गरेको छ।
दुर्घटनामा दिवङ्गत सम्पूर्ण आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा यो दुःख सहन गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गरिएको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कार्यक्रम भावपूर्ण श्रद्धाञ्जलीका साथ सम्पन्न भएको थियो।
प्रतिवेदक : प्रदीप उपाध्याय, मूल–सचिव, राजगढ़ आञ्चलिक समिति