
कोकराझार, ०१ अप्रिल २०२६ : अखिल असम गोर्खा छात्र संघ जनता महाविद्यालय इकाईको आयोजनामा दीर्घकालीन शैक्षिक योगदान पुर्याउनु भएका डा० केदारनाथ पाण्डे ज्युको सेवा निवृत्तिको अवसरमा विदाई तथा विशेष सम्मान कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात स्वागत मन्तव्यसँगै गरिएको थियो भने उपस्थित सम्पूर्णलाई डा० पाण्डे ज्युको योगदानको चर्चा गर्दै सम्मान प्रकट गरिएको थियो। आफ्नो सेवाकालमा उहाँले शिक्षा क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदान, अनुशासन, समर्पण र विद्यार्थीसँगको आत्मीय सम्बन्धलाई विशेष रूपमा स्मरण गरियो। वक्ताहरूले उहाँको शिक्षण शैली, नेतृत्व क्षमता र प्रेरणादायी व्यक्तित्वको प्रशंसा गर्दै उहाँबाट धेरैले मार्गदर्शन पाएको उल्लेख गरे।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघका केन्द्रीय समिति स्वास्थ्य सचिव अमृत खर्का, कोकराझार जिल्ला समितिका पूर्व सभापति मुकुन्द भट्टाराई तथा जिल्ला समितिका वर्तमान सभापति आइता घिसिङको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूले आ–आफ्नो मन्तव्य राख्दै डा० पाण्डे ज्युको सेवाभाव, कर्तव्यनिष्ठा र समाजप्रतिको योगदानको उच्च कदर गरे। साथै, आगामी दिनहरूमा पनि उहाँको अनुभव र मार्गदर्शन समाजका लागि महत्वपूर्ण रहने विश्वास व्यक्त गरे।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा डा० केदारनाथ पाण्डे ज्युलाई खादा, सम्मानपत्र तथा उपहारद्वारा विशेष सम्मान गरिएको थियो। सम्मान ग्रहण पश्चात् बोल्दै डा० पाण्डे ज्युले आफ्नो सेवाकालका अनुभवहरू स्मरण गर्दै सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र नैतिकतामा आधारित शिक्षा ग्रहण गर्न प्रेरित गर्दै समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै वातावरणलाई अझ रमाइलो बनाएका थिए। गीत, नृत्य तथा कविता वाचनमार्फत डा० पाण्डे ज्युप्रति सम्मान व्यक्त गरिएको थियो। समापनतर्फ धन्यवाद ज्ञापन गर्दै आयोजक समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरेको थियो।
समग्रमा, कार्यक्रमले एक कुशल शिक्षकप्रति सम्मान प्रकट गर्नुका साथै विद्यार्थी र समाजबीच प्रेरणादायी सन्देश प्रवाह गर्न सफल भएको आयोजकको भनाइ रहेको छ।
प्रतिवेदक: दुर्गा तामाङ-उप सभापति- जनता महाविद्यालय ईकाई।