
खौराङ, १९ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको निर्देशन अनुसार आग्सु खौराङ आञ्चलिक समितिको आयोजनामा लोकप्रिय कलाकार स्वर्गीय जुबिन गार्गप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न हुन्छ।
आग्सु खौराङ आञ्चलिक समितिका मूल सचिव अभिषेक महन्तको सञ्चालनमा सम्पन्न कार्यक्रममा समितिका सभापति वीरबहादुर छेत्रीले दीप प्रज्वलन गरी स्वर्गीय जुबिन गार्गप्रति श्रद्धाञ्जली अर्पण गरे। तत्पश्चात् कार्यक्रममा उपस्थित आग्सु उदालगुडी जिल्ला समितिका उपसभापति दुर्गा बस्नेत, कार्यालय सचिव राम बस्नेतलगायत आञ्चलिक समितिका पदाधिकारी, नेतृत्ववर्ग तथा सदस्यहरूले स्वर्गीय जुबिन गार्गको तस्बिरमा पुष्प अर्पण गर्दै श्रद्धा र सम्मान व्यक्त गरे।
कार्यक्रममा जुबिन गार्गले संगीत तथा सांस्कृतिक क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरिएको थियो। उहाँका सिर्जना, संगीतप्रतिको समर्पण तथा सांस्कृतिक क्षेत्रमा पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने वक्ताहरूले उल्लेख गरे।
कार्यक्रमको अन्त्यमा स्वर्गीय जुबिन गार्गको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको थियो।
प्रतिवेदक: श्री नारायण दाहाल, सचिव, आग्सु, आग्सु खौराङ आञ्चलिक समिति।