
टङ्ला, १९ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), टङ्ला आञ्चलिक समितिको आयोजनामा कलाकार स्वर्गीय जुबिन गर्गको प्रथम मृत्यु तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। दुलियापाढा शिव मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्वर्गीय जुबिन गर्गको तस्बिरमा पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
आञ्चलिक समितिका सभापति सुरज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सहभागीहरूले स्वर्गीय जुबिन गर्गले असमको संगीत, कला तथा सांस्कृतिक क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरेका थिए।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ, उदालगुडी जिल्ला समितिका उपसभापति किरण सिग्देल, आञ्चलिक समितिका सल्लाहकार तयानाथ उपाध्याय, असम गोर्खा सम्मेलन, टङ्ला शाखाका कार्यकारी सभापति शिवकुमार प्रधान तथा मूलसचिव महेन्द्र बस्नेत, असम नेपाली साहित्य सभा, टङ्ला शाखाका मूलसचिव गणेश बराललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी आग्सु टङ्ला आञ्चलिक समितिका पदाधिकारी तथा कार्यकर्ताहरू, स्थानीय समाजका अग्रज, बुद्धिजीवी, समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले जुबिन गर्गका सिर्जना र सांस्कृतिक योगदानलाई स्मरण गर्दै उहाँको योगदान भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बन्ने धारणा व्यक्त गरे। साथै, उहाँको स्मृतिलाई चिरस्थायी बनाउँदै सांस्कृतिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानलाई निरन्तर स्मरण गरिरहने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रम भावपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले स्वर्गीय जुबिन गर्गको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
प्रतिवेदक: सुश्री वर्षा देवी, साँस्कृतिक सम्पदिका, आग्सु, टङला आञ्चलिक समिति।