All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

बीसौँ वार्षिक करम सम्मेलनमा विशिष्ट अतिथिका रूपमा अखिल असम गोर्खा छात्र संघ, माकुम आञ्चलिक समितिको उपस्थिति

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:06 AM

माकुम, २३ सेप्टेम्बर: सुकानपुखुरी चिया बगान करम उत्सव आयोजक समितिको पहल तथा स्थानीय जनताको सहयोगमा सुकानपुखुरी चिया बगानमा बीसौँ वार्षिक करम सम्मेलन सम्पन्न भएको छ।

करम परम्परा, संस्कृति तथा मौलिकताको संरक्षण गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा बृहत् क्षेत्रबाट ठूलो संख्यामा स्थानीय जनताको सहभागिता रहेको थियो।

सम्मेलनमा अखिल असम गोर्खा छात्र संघ, माकुम आञ्चलिक समितिका सभापति मिलन अधिकारी लगायत समितिका प्रतिनिधिहरू विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। सो अवसरमा आयोजक समिति तथा स्थानीय जनतासँग विचार–विमर्श गर्नुका साथै करम पर्वको महत्त्व र यससँग सम्बन्धित सांस्कृतिक परम्पराका विषयमा मन्तव्यसमेत व्यक्त गरिएको थियो।

करम सम्मेलनका कारण सुकानपुखुरी चिया बगानमा उत्सवमय वातावरण सिर्जना भएको थियो। परम्परागत रीति–रिवाज, नृत्य–गीत तथा विभिन्न सांस्कृतिक कार्यक्रमले सम्मेलनस्थल गुञ्जायमान बनेको थियो।

करम पर्वले समाजमा एकता, भ्रातृत्व तथा सांस्कृतिक सद्भावलाई थप सुदृढ बनाउनुका साथै नयाँ पुस्तामा आफ्नो संस्कृति, परम्परा तथा मौलिकताप्रति रुचि अभिवृद्धि गर्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।

उल्लेखनीय छ कि, बीसौँ वर्षमा प्रवेश गरेको यस करम सम्मेलनले स्थानीय जनताको सांस्कृतिक परम्परा तथा मौलिकताको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

प्रतिवेदक: मिलन अधिकारी-सभापति, माकुम आञ्चलिक समिति

📤 Share this story
Scroll to Top