
तिनसुकिया, १३ अगस्त २०२६: तिनसुकिया जिल्लाको तालाप निवासी एक गोर्खा युवतीमाथि खोबोङ चिया बगान क्षेत्रमा भएको गम्भीर यौन दुर्व्यवहारको घटनालाई लिएर अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिले आवश्यक पहल थालेको छ। घटनालाई गम्भीरतापूर्वक लिँदै पीडितलाई आवश्यक उपचार, सुरक्षा तथा न्याय उपलब्ध गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।
घटनापछि १३ अगस्त २०२६ का दिन अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिका प्रतिनिधिहरूले केन्द्रीय समितिका सांगठनिक सचिवको उपस्थितिमा खोबोङ चिया बगान व्यवस्थापन पक्षसँग भेटघाट गरेका थिए। भेटघाटका क्रममा घटनाको विषयमा विस्तृत रूपमा ध्यानाकर्षण गराउँदै पीडित युवतीको अवस्थाप्रति संवेदनशील भएर आवश्यक सहयोग गर्न व्यवस्थापन पक्षसमक्ष आग्रह गरिएको थियो।
आग्सु प्रतिनिधिहरूले पीडितलाई आवश्यक स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन पहल गर्नुपर्नेमा जोड दिएका थिए। साथै, घटनासँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने माग राखिएको थियो।
खोबोङ चिया बगान सादिया विधानसभा समष्टिअन्तर्गत पर्ने भएकाले यस विषयमा सम्बन्धित विधानसभा क्षेत्रका विधायक बोलिन चेतीयासँग समेत भेटघाट गरी घटनाका सम्बन्धमा छलफल गरिएको थियो। भेटका क्रममा पीडित युवतीको न्याय, उपचार तथा सुरक्षाका लागि आवश्यक पहल गर्न आग्रह गर्दै घटनालाई गम्भीरताका साथ सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको थियो।
अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले कुनै पनि प्रकारको महिला हिंसा तथा यौन दुर्व्यवहारको घटनालाई गम्भीरतापूर्वक लिँदै पीडितको पक्षमा आवश्यक सहयोग र पहल जारी राख्ने जनाएको छ। पीडितले न्याय प्राप्त गर्ने वातावरण निर्माण गर्न परिवार, समाज, सम्बन्धित प्रशासन तथा अन्य जिम्मेवार निकायबीच समन्वय र संवेदनशीलता आवश्यक रहेकोमा संगठनले जोड दिएको छ।
संगठनले घटनाको निष्पक्ष छानबिन, पीडितको आवश्यक उपचार तथा कानुनी प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पीडितको सम्मान, सुरक्षा र न्यायलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यक पहल जारी राखिने जिल्ला समितिले जनाएको छ।
प्रतिवेदक : श्रीमान् जतन प्रधान, सांगठनिक सचिव तथा IT In-charge, तिनसुकिया जिल्ला समिति