
मिसामारी, शोणितपुर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), मिसामारी आञ्चलिक समितिले वर्ष २०२६ मा UPSC द्वारा आयोजित CAPF (Central Armed Police Force) परीक्षामा सफलता हासिल गरेका मिसामारीका युवा दिप घिमिरेलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
मिसामारी आञ्चलिक समितिका सभापति महेन्द्र अधिकारी, उप–सभापतिहरू गगनराज छेत्री र ईश्वर गिरी तथा मूल–सचिव विनोद भण्डारीले संयुक्त रूपमा बधाई सन्देश जारी गर्दै दिप घिमिरेको उपलब्धिलाई समग्र गोर्खाली समाजका लागि गौरवको विषय भएको बताएका छन्।
मोहद घिमिरे र हेमा घिमिरेका सुपुत्र दिप घिमिरेले कठिन प्रतिस्पर्धात्मक UPSC CAPF परीक्षामा सफलता हासिल गरी आफ्नो प्रतिभा, लगनशीलता र निरन्तर मेहनतलाई प्रमाणित गरेका छन्। उनको यस उपलब्धिले निजसँगै जन्मभूमि मिसामारी तथा समग्र गोर्खाली समाजको प्रतिष्ठा उँचो बनाएको बधाई सन्देशमा उल्लेख गरिएको छ।
आञ्चलिक समितिले दिप घिमिरेको सफलता वर्तमान तथा भावी पुस्ताका विद्यार्थी र युवाहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेको छ। कठिन परिस्थितिमा पनि लक्ष्यप्रति दृढ भएर निरन्तर मेहनत गरे सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण उनको उपलब्धिले प्रस्तुत गरेको समितिको भनाइ छ।
सन्देशमा आगामी दिनहरूमा पनि देशसेवा तथा आफ्नो जिम्मेवारीमा उत्कृष्ट योगदान पुर्याउँदै अझ उच्च सफलता हासिल गर्न दिप घिमिरेलाई शुभकामना दिइएको छ। साथै उनको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।
प्रतिवेदक : महेन्द्र अधिकारी-सभापति, मिसामारी आञ्चलिक समिति ।