
सिलासुती: अखिल असम गोर्खा छात्र संघ (आग्सु) सिलासुती आञ्चलिक समितिले हाल सञ्चालनमा रहेको Mission Basundhara 2.0 तथा Mission Basundhara 3.0 अन्तर्गत म्यादी पत्ताकरन (Land Patta) प्रक्रियामा व्यापक रूपमा देखिएको अनियमितता र अन्यायप्रति गम्भीर चासो व्यक्त गरेको छ। पछिल्लो समय जनमानसबाट प्राप्त जानकारीअनुसार, ठूलो सङ्ख्यामा वास्तविक र योग्य आवेदनहरू कुनै स्पष्ट कारण बिना नै नाकास (Rejected) गरिएको छ, जसले स्थानीय जनतामा निराशा र असन्तोष बढाएको छ।
यस समस्यालाई गम्भीर रूपमा लिँदै आग्सु सिलासुती आञ्चलिक समितिले पीडित आवेदनकर्ताहरूको हक–अधिकार सुनिश्चित गर्न सक्रिय पहल थालेको छ। समितिले नाकास गरिएका आवेदनहरू पुनः परीक्षण गराउने उद्देश्यले आवेदनकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापना गर्दै घर–घरमा पुगेर तथ्य सङ्कलन तथा आवश्यक कागजातहरूको पुनः जाँच प्रक्रिया अघि बढाएको छ। यस अभियानमार्फत म्यादी पत्ताकरन तथा जमिनसम्बन्धी अभिलेखमा नाम दर्ता गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइँदैछ।
आग्सु सिलासुती आञ्चलिक समितिका अनुसार, धेरैजसो नाकास गरिएका आवेदनहरूमा प्रक्रियागत सानो त्रुटि, कागजात समन्वयको अभाव वा प्रशासनिक अस्पष्टताका कारण समस्या उत्पन्न भएको देखिएको छ। तर यस्ता कमजोरीका कारण वास्तविक भूमिहीन वा लामो समयदेखि जमिनमा बसोबास गर्दै आएका परिवारहरू पट्टाबाट वञ्चित हुनु अन्यायपूर्ण भएको समितिको ठहर छ। त्यसैले समितिले जनताको पक्षमा उभिँदै सम्बन्धित विभाग र प्रशासनसँग समन्वय गरेर समस्या समाधानको प्रयास तीव्र बनाएको छ।
यस क्रममा आग्सुका कार्यकर्ताहरूले आवेदनकर्तालाई आवश्यक मार्गदर्शन प्रदान गर्दै पुनः आवेदन प्रक्रिया, आपत्ति दर्ता र अभिलेख सुधार सम्बन्धी जानकारी पनि दिइरहेका छन्। साथै, जमिनमा नाम उठाउने तथा म्यादी पत्ता सुनिश्चित गराउने विषयमा सामूहिक रूपमा आवाज उठाउने रणनीति पनि अपनाइएको छ। समितिले स्पष्ट पारेको छ कि योग्य नागरिक कुनै पनि हालतमा अधिकारबाट वञ्चित हुन नदिने अडानमा आग्सु दृढतापूर्वक उभिएको छ।
आग्सु सिलासुती आञ्चलिक समितिले सम्पूर्ण प्रभावित आवेदनकर्तालाई आ–आफ्ना समस्या लिएर समितिसँग सम्पर्क गर्न आह्वान गरेको छ। यस पहललाई सफल बनाउन स्थानीय जनताको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै, आगामी दिनमा आवश्यकता अनुसार प्रशासनसमक्ष ज्ञापनपत्र बुझाउने र आन्दोलनात्मक कार्यक्रमसमेत अघि बढाइने संकेत पनि समितिले दिएको छ। Mission Basundhara को उद्देश्य अनुसार वास्तविक लाभग्राहीले पट्टा पाउने सुनिश्चितता गरिनु नै यस अभियानको मुख्य लक्ष्य रहेको आग्सुले दोहोर्याएको छ।
प्रतिवेदन: अरुण खतिवडा- सभापति, सिलासुति आञ्चलिक समिति ( आग्सु)।