
सिलासुती, २४ जुनः डिमौ पुलिस चौकीका नवनियुक्त प्रहरी अधिकृत श्री घनश्याम हाजरिका ज्यूलाई आज अखिल असम गोर्खा छात्र संघ (आग्सु) सिलासुति आञ्चलिक समितिको तर्फबाट औपचारिक रूपमा स्वागत तथा सम्मान गरिएको छ।
डिमौ पुलिस चौकीमा आयोजित उक्त कार्यक्रममा आग्सुका प्रतिनिधिहरूले नवनियुक्त प्रहरी अधिकृत हाजरिकालाई खादा तथा स्मृति चिन्ह प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा क्षेत्रको शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न प्रहरी प्रशासन र सामाजिक संघसंस्थाबीच आपसी समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल गरिएको थियो।
उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ धेमाजी जिल्ला समितिका कार्यालय सचिव तारा गिरीको विशेष उपस्थिति रहेको थियो। साथै सिलासुति आञ्चलिक समितिका उपदेष्टा, सभापति अरुण खतिवडा, प्रचार सचिव भीम क्षेत्री, विवेक भट्टराई, समाजसेवी पदम क्षेत्री तथा समाजसेवी विनोद खतिवडा लगायतका व्यक्तित्वहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले प्रहरी प्रशासन र सामाजिक संघसंस्थाबीचको सहकार्यले समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। उनीहरूले नवनियुक्त प्रहरी अधिकृत घनश्याम हाजरिकाको नेतृत्वमा डिमौ क्षेत्रको सुरक्षा व्यवस्था अझ प्रभावकारी बन्ने अपेक्षा समेत व्यक्त गरे।
नवनियुक्त प्रहरी अधिकृत हाजरिकाले स्वागत तथा सम्मानप्रति आभार व्यक्त गर्दै जनताको विश्वास जित्ने गरी आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
प्रतिवेदक: अरुण खतिवडा- सभापति, सिलासुति आञ्चलिक समिति।