
ओदालगुडी 29 अगस्ट 2026: अखिल असम गोर्खा छात्र संघ (आग्सु), ओदालगुडी महाविद्यालय एकाइको शपथ ग्रहण समारोह सम्पन्न भएको छ। महाविद्यालय एकाइका सभापति अभिषेक छेत्रीको सभापतित्वमा आयोजित समारोहको सञ्चालन मूल सचिव विजय छेत्रीले गरेका थिए।
समारोहमा महाविद्यालय एकाइका मुख्य सल्लाहकार कालिदास छेत्रीको विशेष उपस्थिति रहेको थियो। साथै आग्सु ओदालगुडी आञ्चलिक समितिका सभापति तेज बहादुर कार्की, उपसभापतिद्वय पंकज खतिवडा र रिजु सिर्पाली, सचिवद्वय बिटु विश्वकर्मा र भुपेन भट्टराई तथा सांगठनिक सचिव आकाश गिरीको उपस्थिति रहेको थियो।
कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूले आफ्नो पद तथा जिम्मेवारीप्रति निष्ठावान् रही संगठनको नीति, उद्देश्य र अनुशासन अनुसार कार्य गर्ने प्रतिबद्धतासहित शपथ ग्रहण गरे। नव निर्वाचित सभापतिका रूपमा हृषिकेश छेत्री तथा मूल सम्पादिकाका रूपमा अञ्जली छेत्रीले शपथ ग्रहण गरेका थिए।
समारोहमा वक्ताहरूले विद्यार्थीहरूको हकहित, शैक्षिक विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै महाविद्यालय एकाइलाई अझ सक्रिय र सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा संगठनको उद्देश्यलाई आत्मसात् गर्दै विद्यार्थी तथा समाजको हितमा जिम्मेवार ढङ्गले कार्य गर्न आग्रह गरिएको थियो। साथै महाविद्यालय एकाइको नयाँ नेतृत्वले संगठनलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउँदै अघि बढाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिवेदन: श्री कालिदास छेत्री, शिक्षा सचिव, आग्सु बान्दरगुडी आञ्चलिक समिति।