
टंला, सेप्टेम्बर २: अखिल असम गोर्खा छात्र संघ (आग्सु), टंला महाविद्यालय एकाइको प्रतिनिधि सभा आज बुधबार सम्पन्न भएको छ। सभामा संगठनको निर्धारित निर्णय अनुसार पुरानो कार्यकारिणी समिति विघटन गरी सर्वसम्मतिले नयाँ कार्यकारिणी समिति गठन गरिएको छ। महाविद्यालय एकाईका सभापति श्री विक्रम दर्जीले सभापतित्व गरेको सभालाई सञ्चालन गर्दछन् मुल सचिव श्री लोहित कटुवालले।
पर्यवेक्षकको रूपमा आग्सु टंला आञ्चलिक समितिका सभापति श्री सुरज कार्की, भारप्राप्त मुल सचिव श्री चन्दन छेत्री उपस्थित रहेका थिए। साथै महाविद्यालय एकाईका पूर्व सभापति श्री मनोज छेत्री, श्री अजय खर्का, श्री सञ्जय छेत्रीकाे उपस्थिति रहेको थियो।
सभामा संगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा महाविद्यालय एकाइको आगामी कार्यदिशा, विद्यार्थीहरूको हित तथा संगठनलाई थप सुदृढ र सक्रिय बनाउने विषयमा चर्चा गरिएको थियो। छलफलपछि उपस्थित प्रतिनिधिहरूको सर्वसम्मतिबाट नयाँ कार्यकारिणी समिति गठन गरिएको हो।
नवगठित कार्यकारिणी समितिको सभापतिमा नवीन छेत्री र मूल सचिवमा मेघनाथ विश्वकर्मा चयन हुनु हुन्छ। नयाँ नेतृत्वले महाविद्यालयका विद्यार्थीहरूको हकहितका साथै शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै संगठनको उद्देश्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
सभामा संगठनको नीति, अनुशासन र उद्देश्यलाई आत्मसात् गर्दै एकताबद्ध भएर कार्य गर्नेमा जोड दिइएको थियो। साथै विद्यार्थी समुदायका विभिन्न समस्या तथा आवश्यकताहरूलाई प्राथमिकताका साथ उठान गर्दै सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।
यस अवसरमा अखिल असम गोर्खा छात्र संघको तर्फबाट नवनिर्वाचित सभापति नवीन क्षेत्री, मूल सचिव मेघनाथ विश्वकर्मासहित सम्पूर्ण कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ समितिले संगठनको गरिमा कायम राख्दै विद्यार्थी तथा समाजको हितमा समर्पित भएर कार्य गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिवेदक: श्री विक्रम दर्जी, सभापति, आग्सु, टंला महाविद्यालय इकाइ।