All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #14
January 22, 2026

कोक्राझार जिल्लाका विभिन्न स्थानमा आग्सुद्वारा दिवंगत गायक प्रशान्त तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली

📅 January 22, 2026
✍️ AAGSU
🕒 12:05 AM

कोक्राझार, १९ जनवरी: अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रिय समितिको स्पष्ट निर्देशन तथा आह्वानलाई शिरोधार्य गर्दै कोक्राझार जिल्ला समिति आग्सुको विशेष पहलमा जिल्ला अन्तर्गतका विभिन्न आञ्चलिक समितिहरूमा दिवंगत तथा प्रसिद्ध गायक प्रशान्त तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण कार्यक्रमहरू सम्पन्न भएका छन्। केन्द्रिय समितिले दिवंगत कलाकारप्रति सम्मान प्रकट गर्दै सम्पूर्ण जिल्ला तथा आञ्चलिक समितिहरूलाई एकसाथ श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न निर्देशन दिएको अनुरूप कोक्राझार जिल्लामा पनि एकताको सन्देशसहित कार्यक्रमहरू सम्पन्न गरिएका हुन्।


कोक्राझार जिल्लाको पाटगाउँ आञ्चलिक समितिले सभापति श्री रोहन बराइलीको नेतृत्वमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा कोक्राझार जिल्ला समितिका सभापति श्री आइता घिसिङको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा दिवंगत गायक प्रशान्त तामाङको तस्बिरमा पुष्प अर्पण गर्दै मौन धारण गरिएको थियो र उहाँले गोर्खा समाज तथा सांगीतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरण गरिएको थियो।
यसैगरी, कोक्राझार आञ्चलिक समितिले सभापति श्री गणेश शर्माको नेतृत्वमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जिल्ला समितिका मूल–सचिव श्री सेबाष्टिन रत्ने विशेष रूपमा उपस्थित रहनुभएको थियो। केन्द्रिय समितिको निर्देशन अनुसार आयोजित उक्त कार्यक्रममा दिवंगत गायकप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरिएको थियो।
पर्बतझोरा आञ्चलिक समितिले पनि सभापति श्री राजकुमार कटुवालको तत्परतामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा उपस्थित सदस्यहरूले दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनले गोर्खा समाजलाई अपूरणीय क्षति पुगेको भन्दै भावपूर्ण श्रद्धाञ्जली ज्ञापन गरेका थिए।
उल्टापानी आञ्चलिक समितिका सभापति श्री रबिन मगरले केन्द्रिय तथा जिल्ला समितिको आदेश अनुरूप आफ्नो दायित्व निर्वाह गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभएको छ। कार्यक्रममा स्थानीय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो र दिवंगत कलाकारप्रति सम्मान प्रकट गरिएको थियो।
त्यसैगरी, सरलपारा आञ्चलिक समितिले पनि सभापति श्री कृष्ण छेत्रीको नेतृत्वमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै दिवंगत गायक प्रशान्त तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
केन्द्रिय समितिको निर्देशन अनुसार कोक्राझार जिल्लाभर एकैसाथ सम्पन्न यी श्रद्धाञ्जली कार्यक्रमहरूले आग्सु संगठनको एकता, अनुशासन र सांस्कृतिक चेतनालाई स्पष्ट रूपमा उजागर गरेको छ। आग्सुले दिवंगत गायक प्रशान्त तामाङको योगदान सधैं स्मरणीय रहने विश्वास व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।


प्रतिवेदन: भुवन पौडेल-सचिव (IT Incharge), कोक्राझार जिल्ला समिति (आग्सु)

📤 Share this story
Scroll to Top