
डिमापुर, नागाल्याण्ड :गोर्खा युवाको उत्कृष्ट प्रतिनिधित्व र अन्तर्राष्ट्रिय गौरवको प्रतीक बनेका श्री संजय छेत्री (4th Dan Black Belt) लाई गोर्खा समाजद्वारा डिमापुरमा आयोजित विशेष समारोहमा भव्य रूपमा सम्मान गरिएको छ। उक्त सम्मान समारोह गोर्खा युथ क्लब, डिमापुरको आयोजनामा सम्पन्न भएको थियो, जहाँ अखिल असम गोर्खा छात्र संघ (AAGSU) कार्बि अङलङ जिल्ला समितिको प्रतिनिधिमण्डलले पनि सहभागिता जनाएको थियो।
यस वर्षको International Open Kukkiwon Cup प्रतियोगितामा स्वर्ण पदक विजेता भएका संजय छेत्रीको सफलतालाई समाजले अत्यन्तै गर्वका साथ स्वागत गरेको थियो। समारोहमा नागाल्याण्डका विभिन्न गोर्खा संगठनका प्रतिनिधिहरू उपस्थित रहँदा, सहभागीहरूले विजेतालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गरेका थिए।
कार्यक्रमको अवसरमा AAGSU कार्बि अङलङ जिल्ला समितिका सभापति श्री नारायण छेत्रीले आफ्नो मन्तव्य राख्दै गोर्खा समाजका युवा खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर गौरवको झण्डा बुलन्द गर्दै आएको बताए। उनले संजय छेत्रीको यो उपलब्धि सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै खेलकुद क्षेत्रले युवा वर्गमा अनुशासन, साहस र सामाजिक उत्तरदायित्वको भावना जगाउने महत्वलाई पनि औँल्याए।
समारोहमा AAGSU केन्द्रीय समितिका सह–मुखपात्र सचिव श्री महेश शर्मा, कार्बि अङलङ जिल्ला समितिका मूल सचिव श्री संजु छेत्री, सह–सचिव श्री गोविन शर्मा, कार्यकारिणी सदस्य श्री रवि राणा, साथै केन्द्र बोकाजान आञ्चलिक समितिका सभापति श्री राजेश घिसिङको पनि उपस्थिती रहेको थियो।
समग्र कार्यक्रमले खेलकुद क्षेत्रमा गोर्खा युवाहरूको योगदान र सम्भावनालाई समाजमा उजागर गर्दै, आगामी पुस्ताका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। संजय छेत्रीको उपलब्धि केवल व्यक्तिगत सफलता नभई सम्पूर्ण गोर्खा समाजको गौरव भएको कुरा सबै सहभागीहरूले प्रत्यक्ष अनुभव गरेका थिए।