All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #8
December 11, 2025

सिलासुतीमा एच.एस.एल.सी. परिक्षार्थीका लागि एक–महिने निःशुल्क कार्यशाला औपचारिक रूपमा प्रारम्भ

📅 December 11, 2025
✍️ AAGSU
🕒 12:06 AM

सिलासुती, दिसम्बर ६: आखिल असम गोर्खा छात्र संघ (AAGSU) सिलासुती आञ्चलिक समितिले एच.एस.एल.सी. परिक्षार्थीहरूको हौसला बढाउन तथा उनीहरूलाई शैक्षिक रूपमा सुदृढ बनाउने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको एक–महिने निःशुल्क कार्यशाला आजदेखि औपचारिक रूपमा प्रारम्भ गरेको छ। कुनै पनि प्रकारको शुल्क नलिई, समुदायका विद्यार्थीहरूलाई पूर्ण रूपमा निःशुल्क शैक्षिक सहयोग प्रदान गर्ने लक्ष्यका साथ सुरु गरिएको यो कार्यक्रम समितिको नयाँ सोच र सकारात्मक पहलको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको छ।

कार्यक्रम सुरु हुने दिनमै विद्यार्थीहरूको उत्साह निकै उल्लेखनीय देखियो। प्रारम्भिक चरणमै अपेक्षाभन्दा बढी विद्यार्थीहरूको सहभागिता देखिएको छ, जसले समितिलाई थप प्रेरणा प्रदान गरेको छ। गणित र अंग्रेजी व्याकरण—यी दुई महत्वपूर्ण विषयमा केन्द्रित कक्षा सञ्चालन भइरहेको छ, र प्रत्येक दिन करिब ४० जना विद्यार्थीहरू निरन्तर उपस्थित भई अध्ययनमा संलग्न भइरहेको तथ्य उत्साहजनक छ।

गणित कक्षामा विद्यार्थीहरूले आधारभूत तथ्यदेखि परीक्षा–उन्मुख प्रश्नसम्म अभ्यास गर्दै अघि बढिरहेका छन्। जटिल सूत्रहरूलाई सरल तरिकाले बुझाउने, नियमित अभ्यासमार्फत समस्या समाधानको सीप विकास गराउने तथा परिक्षामा अक्सर सोधिने खालका प्रश्नहरूमा विशेष ध्यान दिने कार्य सुरु भइसकेको छ। त्यस्तै अंग्रेजी व्याकरण कक्षामा विद्यार्थीहरूले वाक्य संरचना, काल , लेखन–पठन सीप तथा व्यावहारिक व्याकरणका महत्वपूर्ण पक्षहरूमा सक्रिय रूपमा सिक्ने अवसर पाइरहेका छन्।

कार्यक्रम प्रारम्भसँगै विद्यार्थीहरूको उत्साह, नियमितता र सिक्ने चाहनाले समितिका सदस्यहरूमा पनि सकारात्मक ऊर्जा थपिएको छ। अभिभावकहरूले समेत आफ्ना छोराछोरीले कक्षामा भाग लिन थालेपछि देखिएको रुचि र अनुशासनप्रति खुसी व्यक्त गरेका छन्। विद्यार्थी–अभिभावक–समितिबीचको यो समन्वयले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहयोग गरिरहेको छ।

सिलासुती आञ्चलिक समितिले आर्थिक भार बिना, समाजका प्रत्येक विद्यार्थीलाई समान अवसर उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरेको यो कार्यशाला समुदायमै एक प्रेरणादायी पहलका रूपमा रहेको छ। आगामी दिनहरूमा विद्यार्थीहरूको उपस्थिति र सिकाइको प्रगति अनुसार कार्यक्रमलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै लैजाने समितिको योजना रहेको जानकारी पनि दिइएको छ।

यस कार्यशालाको सफल प्रारम्भले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि, तयारीको प्रारम्भिक चरण मजबुत बनाउने तथा समुदायमा शैक्षिक जागरण फैलाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समितिले व्यक्त गरेको छ। सिलासुती आञ्चलिक समिति आगामी दिनहरूमा पनि विद्यार्थी–हितका यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न कटिबद्ध रहेको छ।

प्रतिवेदन: अरुण खतिवडा- सभापति, सिलासुति आञ्चलिक समिति (आग्सु)।

📤 Share this story
Scroll to Top