All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #8
December 11, 2025

सुन्दर नगर नारी परिषद् शाखा समिति गठन

📅 December 11, 2025
✍️ AAGSU
🕒 12:07 AM

माकुम,दिसम्बर 8: असम गोर्खा छात्र संघ (AAGSU) माकुम आञ्चलिक समितिको सक्रिय सहयोगमा तथा गोर्खा नारी परिषद् माकुम आञ्चलिक समितिको मातहत आज सुन्दर नगर नारी परिषद् शाखा समिति विधिवत रूपमा गठन गरिएको छ। स्थानीय सुन्दर नगर क्षेत्रका गोर्खा समुदायको उपस्थिति र उत्साहपूर्ण सहभागिताबीच सम्पन्न उक्त कार्यक्रमले नारी सशक्तिकरण, सामाजिक दायित्व पालन तथा संगठनात्मक सुदृढीकरणको दिशामा एक महत्वपूर्ण कदम चालेको छ।

कार्यक्रमको सुरुवात स्वागत मन्तव्यसँगै भयो, जहाँ नारी परिषद्को उद्देश्य, आजसम्मका गतिविधि तथा आगामी दिनमा लैंगिक समता, समुदायिक नेतृत्व र सामाजिक जागरणका अभियानलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा गरिएको थियो। माकुम आञ्चलिक समितिका प्रतिनिधिहरूले नारी परिषद्को संगठनात्मक भूमिकालाई प्रशंसनीय ठहर गर्दै सुन्दर नगर शाखा गठनले यस क्षेत्रमा नारीहरूलाई एउटै साझा मंचमा ल्याउने, उनीहरूको आवाजलाई संस्थागत संरचनासम्म पुर्‍याउने र समुदायका महत्वपूर्ण विषयमा नेतृत्व प्रदान गर्ने अवसर निर्माण भएको बताएका थिए।

गठन कार्यक्रमको मुख्य आकर्षण नयाँ शाखा समितिको नेतृत्व चयन थियो। सर्वसम्मत निर्णयका आधारमा सुन्दर नगर नारी परिषद् शाखाको सभानेत्रीको जिम्मेवारी श्रीमती रुपा प्रधानलाई प्रदान गरिएको छ। निरन्तर सामाजिक सक्रियता, महिलामैत्री कार्यक्रम सञ्चालनमा अनुभव तथा समुदायसँगको नजिक सम्बन्धका कारण उनलाई योग्य नेतृत्वका रूपमा समितिले विश्वास दिएको बताइयो। त्यसैगरी, शाखा समितिको सम्पादिकाको जिम्मेवारी श्रीमती रिता शर्मालाई दिइएको छ। लेखन, समन्वय तथा संगठनात्मक कार्यकुशलतामा दक्ष भएकी शर्माले समितिको प्रशासनिक तथा सम्प्रेषण पक्षलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सभामा वक्ताहरूले नारी परिषद्को उद्देश्यलाई फेरि एकपटक स्पष्ट पार्दै महिलाको सर्वांगीण विकासका लागि शिक्षा, स्वास्थ्य, अधिकार संरक्षण, आत्मनिर्भरता र सामाजिक चेतनाको विकासलाई प्राथमिकतामा राखिने बताएका थिए। स्थानीय समुदायका अनुभवी सदस्यहरूले नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै सुन्दर नगर क्षेत्रका महिलाहरूलाई एकताबद्ध गर्न, सामाजिक समस्याहरूमा आवाज उठाउन र आगामी पुस्तालाई सही दिशा दिन संगठनले प्रभावकारी भूमिका निर्वाह गर्ने आशा व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यतिर, नवगठित शाखा समितिले निकट भविष्यमा सुन्दर नगर क्षेत्रमा महिला दक्षता विकास, स्वास्थ्य सचेतना, सांस्कृतिक संरक्षण, घरेलु हिंसा विरुद्ध अभियन, तथा सामुदायिक समन्वयका विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो। AAGSU माकुम आञ्चलिक समिति र गोर्खा नारी परिषद् माकुम आञ्चलिक समितिले आगामी गतिविधिहरूमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए।

शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न सुन्दर नगर नारी परिषद् शाखा समिति गठन कार्यक्रमले स्थानीय महिलाहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र संगठनात्मक सहभागिताको भावना सिर्जना गरेको देखिएको छ। यो संरचना आगामी दिनमा सुन्दर नगर क्षेत्रका महिलाहरूको प्रतिनिधित्व, अधिकार रक्षा र सामाजिक प्रगतिमा एक महत्वपूर्ण स्तम्भ बन्ने विश्वास लिइएको छ।

प्रतिवेदन: मिलन अधिकारी-सभापति, माकुम आञ्चलिक समिति (आग्सु)।

📤 Share this story
Last Story in Issue →
Scroll to Top