All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #8
December 11, 2025

अग्सुको स्वर्णजयंती वर्ष शुभारम्भ तयारीबारे तेलाममा आयोजित खुला सभा सम्पन्न

📅 December 11, 2025
✍️ AAGSU
🕒 12:06 AM

तेलाम, डिसेम्बर 07: तेलाम गोर्खा भवन प्रांगणमा आज अखिल असम गोर्खा छात्र संघ (आग्सु) धेमाजी जिल्ला समितिको उद्योगमा र तेलाम आञ्चलिक समितिको आतिथ्यमा एक महत्वपूर्ण खुला सभा सफलतापूर्वक सम्पन्न भयो। सभाको अध्यक्षता तेलाम आञ्चलिक समितिका सभापति चन्द्र बहादुर राईले गर्नुभएको थियो। संघले स्वर्ण जयंती वर्ष प्रारम्भ गरिसकेपछि विभिन्न तह–स्तरमा गरिने कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजित यो सभा तेलाम क्षेत्रका लागि विशेष महत्व बोकेको कार्यक्रमका रूपमा रहेको देखियो।

खुला सभाको प्रारम्भ सभापति चयन र आसन ग्रहणबाट भयो। त्यसपछि परिचय पर्वमार्फत अतिथि, समिति प्रतिनिधि तथा सहभागीहरूको औपचारिक परिचय गरियो। सभापति चन्द्र बहादुर राईले स्वागत मन्तव्यसहित कार्यक्रमको उदेश्य स्पष्ट पार्दै आग्सु ले पाँच दशकमा स्थापित गरेको सामाजिक, शैक्षिक, सांस्कृतिक तथा अधिकार–संरक्षणको भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार स्वर्ण जयंती वर्ष केवल उत्सव मात्र नभई आगामी मार्गचित्र, एकता र संगठनात्मक पुनर्संरचनाको अवसर हो।

उदेश्यव्याख्या पश्चात् कार्यक्रमको विशेष कार्यसूचीअनुसार सरकारी जागिर प्राप्त गर्न सफल सदस्यहरूको सम्मान गरियो। शिक्षक सेवामा नियुक्त हुनुभएका भानुभक्त राई तथा असम पुलिस (APRO) सेवामा उत्तीर्ण भई सेवामा प्रवेश गर्नुभएका मिस लता देवी क्षेत्रीलाई सभामार्फत सम्मानजनक अभिवादन प्रदान गरियो। यो सम्मानले युवाहरूमा प्रेरणा जगाउने विश्वास व्यक्त गरिएको थियो।

तेलाम गोर्खा खेल मैदान निर्माण सन्दर्भमा सभाले महत्वपूर्ण छलफल गर्‍यो। खेल पूर्वाधारसहितको एक व्यवस्थित मैदान निर्माण गरिनुपर्ने समाजकै आवश्यकता भएको भन्दै यस विषयमा आञ्चलिक तथा जिल्ला समितिले समन्वय गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइयो। त्यसैगरी आग्सू को स्वर्ण जयंती शुभारम्भ समारोहको तयारी, कार्यक्रमहरू, जनसंपर्क अभियान तथा संगठनात्मक गतिशीलताबारे विस्तृत चर्चा भयो।

धेमाजी जिल्ला समितिका उप–सभापति सोहित थापाले जिल्लास्तरीय कार्यक्रम र स्वर्ण जयंती वर्षलाई ऐतिहासिक बनाउन आवश्यक सक्रियताको खाकाबारे जानकारी दिनुभयो। उहाँले सबै आञ्चलिक समितिहरूले संयुक्त रूपमा अघि बढ्दा मात्र स्वर्ण जयंती वर्ष सार्थक हुने बताउनुभयो। उप–सभापति मिन प्रधानले संगठन विस्तार, युवा नेतृत्व विकास तथा तेलाम क्षेत्रको सक्रियताबारे उच्च प्रशंसा गर्दै स्वर्ण जयंती वर्षलाई एकताको मोडका रूपमा लिन आग्रह गर्नुभयो।

यसैबीच Basundhara 2.0 र 3.0 अन्तर्गत देखिएका स्थानीय समस्या तथा गोर्खा समुदायको कागजी दस्तावेजसम्बन्धी चुनौती र सम्भावित समाधानबारे पनि विस्तृत छलफल भयो। सहभागीहरूले तथ्य, कागजपत्र अद्यावधिक तथा सहजीकरणका लागि आग्सु ले समन्वय बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा मूल–सचिव राम विश्वकर्मा, उपदेशक, जिल्ला तथा आञ्चलिक समितिका सदस्यहरू, स्थानीय अग्रज, महिला, युवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। अन्त्यमा सहभागीहरूले स्वर्ण जयंती वर्षमा गरिने सबै कार्यक्रम सफल पार्ने सामूहिक प्रतिवद्धता व्यक्त गर्दै अन्यान्य बिषयहरूमा पनि सुझाव एवं मन्तव्य राखे।

तेलाममा सम्पन्न खुला सभाले स्वर्ण जयंती वर्षको अभियानलाई थप प्रभावकारी बनाएको मात्र नभई सम्पूर्ण गोर्खा समाजमा एकता, जागरण र आत्मविश्वासको नयाँ उर्जा सिर्जना गरेको अनुभूति गराएको छ।

प्रतिवेदन: सोहित थापा; उप-सभापति, धेमाजी जिल्ला समिति (आग्सु)

📤 Share this story
Scroll to Top