All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #33
June 4, 2026

पूर्व सादिया आञ्चलिक समितिद्वारा गाउँ–समाज भ्रमण तथा मेधावी विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

📅 June 4, 2026
✍️ AAGSU
🕒 12:06 AM

सादिया, २७ मे २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु) पूर्व सादिया आञ्चलिक समितिको आयोजनामा तथा तिनसुकिया जिल्ला समितिको उपस्थितिमा आञ्चलिक क्षेत्रअन्तर्गतका गाउँ–समाजहरूको समग्र अवस्था, समस्या तथा आवश्यकताबारे जानकारी संकलन गर्ने उद्देश्यले गाउँ–समाज भ्रमण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। सोही कार्यक्रमको सफल कार्यान्वयनका लागि शिव–राधा कृष्ण मन्दिर प्राङ्गणमा एक महत्वपूर्ण आमसभा सम्पन्न भएको छ।

सभामा आञ्चलिक क्षेत्रका विभिन्न गाउँ–समाजका प्रतिनिधि, समाजसेवी तथा आग्सुका कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गाउँ–समाजमा विद्यमान विभिन्न समस्या, आवश्यकता तथा सुझावहरूको पहिचान गरी संगठनलाई थप सशक्त र जनमुखी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले समाजको वास्तविक अवस्था बुझ्न प्रत्यक्ष भ्रमण आवश्यक रहेको धारणा व्यक्त गर्दै स्थानीय जनताको आवाजलाई संगठनमार्फत उचित स्थानसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

यसै क्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) पूर्व सादिया आञ्चलिक समितिको विशेष पहलमा यस वर्षको उच्च तथा उच्चतर माध्यमिक परीक्षामा आञ्चलिक समितिअन्तर्गत उत्कृष्ट नतिजा हासिल गरी प्रथम स्थान प्राप्त गर्न सफल भएका गोर्खा समुदायका मेधावी छात्र–छात्राहरूलाई उनीहरूकै निवास क्षेत्र तथा विभिन्न स्थानमा पुगेर अभिनन्दन तथा सम्मान गरिएको थियो। विद्यार्थीहरूको शैक्षिक उपलब्धिको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई प्रमाणपत्र तथा शुभकामना प्रदान गरिएको थियो। कार्यक्रममार्फत युवा पुस्तालाई शिक्षा क्षेत्रमा थप प्रेरित गर्ने तथा शैक्षिक उत्कृष्टतालाई सम्मान गर्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।

सभाले आगामी दिनहरूमा आञ्चलिक क्षेत्रका सम्पूर्ण गाउँ–समाजमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, समस्या तथा सुझाव संकलन गर्ने र संगठनात्मक गतिविधिलाई अझ प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ। सहभागीहरूले सामाजिक एकता, शैक्षिक उन्नति तथा समुदायको सर्वाङ्गीण विकासका लागि सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा आयोजक समितिले उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै गाउँ–समाज भ्रमण कार्यक्रम तथा विद्यार्थी सम्मान कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति कृतज्ञता व्यक्त गरेको थियो।

उक्त कार्यक्रमहरूमा आग्सु पूर्व सादिया आञ्चलिक समितिका कार्यवाहक सभापति राजेन छेत्री ,कार्यवाहक मूल-सचिव पंकज गाजुरेल लगायत आञ्चलिक तथा जिल्ला समितिका पदाधिकारी, समाजका अगुवा व्यक्तित्वहरू, अभिभावक तथा स्थानीय बासिन्दाहरूको सक्रिय उपस्थिति रहेको थियो।

प्रतिवेदक: राजेन छेत्री- कार्यवाहक सभापति, पुर्व सदिया आञ्चलिक समिति ।

📤 Share this story
Scroll to Top