📰 AAGSU e-Bulletin
Issue #45
August 27, 2026

अठीयाबारी आञ्चलिक समिति आग्सुको १८औँ प्रतिनिधि सभा तथा ३५औँ नेपाली भाषा मान्यता दिवस सम्पन्न

📅 August 27, 2026
✍️ AAGSU
🕒 12:06 AM

कोक्राझार, २० अगष्ट २०२६। अखिल असम गोर्खा छात्र संघ (आग्सु) कोक्राझार जिल्ला अन्तर्गत अठीयाबारी आञ्चलिक समितिको आयोजनामा १८औँ प्रतिनिधि सभा तथा ३५औँ नेपाली भाषा मान्यता दिवस अठीयाबारी छेत्री बस्ती सामूहिक प्रेक्षालयमा विविध कार्यक्रमका साथ भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको प्रारम्भमा अखिल असम गोर्खा छात्र संघको झण्डोत्तोलन तथा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रतिनिधि सभाको औपचारिक सुरुवात गरिएको थियो। अठीयाबारी आञ्चलिक समिति आग्सुका भा.प्रा. सभापति पर्वत पौडेलको अध्यक्षता तथा मूल–सचिव विवेक पाठकको सञ्चालनमा सम्पन्न प्रतिनिधि सभामा समितिले विगत कार्यकालमा सम्पन्न गरेका सांगठनिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरूको समीक्षा गरिएको थियो। मूल–सचिवद्वारा सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी प्रतिनिधिहरूमाझ छलफल तथा सुझाव आदानप्रदान गरिएको थियो।

प्रतिनिधि सभाको महत्वपूर्ण उपलब्धिका रूपमा पुरानो समिति भङ्ग गरी नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। केन्द्रिय आग्सुका सांगठनिक सचिव अमृत खड्का, BTC क्षेत्रिय समिति आग्सुका शिक्षा सचिव शंकर राई तथा कोक्राझार जिल्ला समिति आग्सुका सभापति आईता घिसिङलगायतको पर्यवेक्षणमा नयाँ समिति गठन गरिएको हो। नवगठित समितिको सभापतिको जिम्मेवारी विवेक पाठक तथा मूल–सचिवको जिम्मेवारी गोकुल कोइरालालाई प्रदान गरिएको छ।

नवगठित समितिको उपसभापतिमा कृष्ण कटुवाल, बिकु छेत्री, पर्वत पौडेल र मौसम तिम्सिना, सचिवमा जीविका बस्नेत, अच्युत कटुवाल, अमृत छेत्री र मालती नेवार, शिक्षा सचिवमा सेवक छेत्री र निवास कोइराला, सांगठनिक सचिवमा सागर सुवेदी, पदम नेवार र नारायण कार्की चयन भएका छन्। त्यसैगरी सांस्कृतिक सचिवमा कान्छा लिम्बू र विपना पौडेल, खेलकुद सचिवमा विशाल दर्जी र रोहन पाठक, प्रचार सचिवमा विजय कटुवाल, अनुज घिमिरे र राजकुमार सुवेदी, कार्यालय सचिवमा विजय कोइराला, स्वास्थ्य सचिवमा राहुल पाठक तथा साहित्य सचिवमा शिवानी पाठक र प्रीति कार्की चयन भएका छन्। कार्यकारी सदस्यमा देवराज सुवेदी, सानु नेवार, सरुज बानियाँ, करण छेत्री र परशुराम छेत्री रहेका छन्।

नवगठित समितिले आगामी कार्यकालमा संगठन विस्तार, विद्यार्थी तथा युवाको शैक्षिक एवं सामाजिक हित, गोर्खा भाषा–साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन तथा सामाजिक जागरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यसै अवसरमा ३५औँ नेपाली भाषा मान्यता दिवस पनि श्रद्धा, गौरव र उत्साहका साथ मनाइएको थियो। नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचीमा स्थान प्राप्त गरेको ऐतिहासिक दिनको स्मरण गर्दै नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र विकासमा योगदान पुर्‍याउने अग्रज तथा भाषा अभियन्ताहरूप्रति सम्मान व्यक्त गरिएको थियो। वक्ताहरूले नेपाली भाषा गोर्खा समुदायको पहिचान, इतिहास, संस्कृति र भावनासँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण, शुद्ध प्रयोग, अध्ययन–अध्यापन तथा पुस्तान्तरणमा विद्यार्थी तथा युवाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा युवाहरूले कविता, गीत–संगीतलगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै समारोहलाई थप आकर्षक र प्रभावकारी बनाएका थिए।

समारोहमा केन्द्रिय आग्सुका सांगठनिक सचिव अमृत खड्का, BTC आग्सुका शिक्षा सचिव शंकर राई, कोक्राझार जिल्ला समिति आग्सुका सभापति आईता घिसिङ, सचिव पवन सुवेदी, भुवन पौडेल, सांगठनिक सचिव रामबहादुर लिम्बू, सरलपारा आञ्चलिक समिति आग्सुका सभापति कृष्ण छेत्री, खेलकुद सचिव दीपक शर्मा, अठीयाबारी छेत्री बस्ती गाउँका गाउँबुढा गोविन्द कटुवाल, हेडमेन टंक कार्की, अगोस BTC क्षेत्रिय समितिका उपसभापति अशोक कटुवाल, अ गो स कोक्राझार जिल्ला समितिका मूल–सचिव यादव सुवेदी, अठीयाबारी महिला समितिकी सभानेत्री यसोदा सुवेदी, सम्पादिका चम्पा कार्की, गाउँ समाजका सभापति गणेश सुवेदी, समाजसेवी मनी कोइराला, अठीयाबारी आञ्चलिक समिति आग्सुका प्राक्तन सभापति प्रकाश नेवार, नौचलीगाउँका हेडमेन तथा गाउँ समाजका विशिष्ट व्यक्तिहरू केदार नेवार, कृष्ण पौडेल, रुद्र पौडेल, गणेश नेवार, पूर्व आग्सु कर्मी सुमन पौडेललगायत आग्सु कर्मकर्ता, बुद्धिजीवी, युवा तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

यसरी १८औँ प्रतिनिधि सभाबाट नयाँ कार्यसमिति गठन हुनुका साथै ३५औँ नेपाली भाषा मान्यता दिवस पनि सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले अठीयाबारी आञ्चलिक समितिलाई आगामी दिनमा अझ सक्रिय, सशक्त र संगठित रूपमा अघि बढ्न नयाँ ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ।

प्रतिवेदक : भुवन पौडेल, सचिव (IT सचिव), कोक्राझार जिल्ला समिति,

📤 Share this story
Scroll to Top