
कोक्राझार, २३ अगस्ट २०२६। अखिल असम गोर्खा छात्र संघ (आग्सु) कोक्राझार आञ्चलिक समितिको आयोजनामा १४औँ गोर्खा छात्र उत्सव (The Gorkha Students’ Fest) बोडोफा सांस्कृतिक प्रेक्षागृह, कोक्राझारमा भव्य एवं उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कोक्राझार आञ्चलिक समिति आग्सुका सभापति रोहन क्षेत्रीको अध्यक्षता तथा मुख्य संयोजक सेवा रत्नेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थी, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, साहित्यप्रेमी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गोर्खा विद्यार्थी तथा युवाहरूको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा आपसी एकता र सहकार्यको भावना विकास गर्ने उद्देश्यले आयोजित उत्सवमा नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा विशेष जोड दिइएको थियो। कार्यक्रममा गीत, नृत्य, कविता, वक्तृत्वकला, गोर्खाली सांस्कृतिक प्रदर्शनलगायत विविध सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरिएको थियो।
उत्सवअन्तर्गत युवा संसद, गोर्खाली प्रतिभाको खोज, सांस्कृतिक प्रदर्शनलगायत विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमले नवागत विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा प्रदान गरेको थियो। प्रतिस्पर्धामा उत्कृष्ट प्रतिभा प्रदर्शन गर्दै मनिषा सुनारले Miss Freshers तथा तुसार पराजुलीले Mr. Freshers को उपाधि हासिल गरेका थिए। दुवैलाई गोर्खाली टीका तथा खादा लगाई सम्मानपत्र र स्मृति चिह्न प्रदान गरिएको थियो। अन्य प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई समेत सम्मानपत्र तथा स्मृति चिह्न प्रदान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले विद्यार्थी तथा युवाहरूले शिक्षा र अनुशासनलाई प्राथमिकता दिँदै आफ्नो व्यक्तिगत भविष्य निर्माणसँगै समाज र राष्ट्र निर्माणमा समेत सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। साथै, गोर्खा समुदायको भाषा, संस्कृति र पहिचानलाई नयाँ पुस्तामाझ हस्तान्तरण गर्न तथा आधुनिक शिक्षा र प्रविधिसँगै आफ्नो मौलिक पहिचानलाई अघि बढाउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
उक्त समारोहमा कोक्राझार विश्वविद्यालयका कुलसचिव डा. बनविना ब्रह्म, कालिचरण महाविद्यालयका सहायक अध्यापक रुसो छेत्री, TLCC का अध्यक्ष विक्रम दैमारी, CIT कोक्राझारका सहायक अध्यापक सुबाश राई, केन्द्रिय आग्सुका सांगठनिक सचिव अमृत खड्का, सदस्य किरण पौडेल, कोक्राझार जिल्ला समिति आग्सुका सभापति आईता घिसिङ, मुख्य उपदेष्टा मुकुन्द भट्टराई, BTC क्षेत्रिय समिति आग्सुका शिक्षा सचिव शंकर राई, सांस्कृतिक जगतका स्थानीय विशिष्ट व्यक्तिहरू सञ्जीव सुनार तथा गौरीमाया प्रधानलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कोक्राझार जिल्ला समितिका पदाधिकारी, बङ्गाईगाउँ तथा चिराङ जिल्ला समिति आग्सुका पदाधिकारी, कोक्राझार जिल्ला अन्तर्गतका विभिन्न आञ्चलिक समितिका सभापति, मूल–सचिव तथा कर्मकर्ताहरू, बोडोल्याण्ड विश्वविद्यालय, बङ्गाईगाउँ विश्वविद्यालय, कोक्राझार विश्वविद्यालय, जनता महाविद्यालय, बेङतोल महाविद्यालयलगायत विभिन्न शैक्षिक संस्थानका आग्सु पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन कोक्राझार आञ्चलिक समिति आग्सुका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए। आयोजक समितिले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने अभिभावक, शिक्षक, विद्यार्थी, युवा, शुभेच्छुक, सामाजिक कार्यकर्ता तथा विभिन्न संघ–संस्थाप्रति आभार व्यक्त गरेको छ।
१४औँ गोर्खा छात्र उत्सवले गोर्खा विद्यार्थी तथा युवाहरूको प्रतिभा, सिर्जनशीलता र सांस्कृतिक पहिचानलाई एउटै मञ्चमा प्रस्तुत गर्दै आपसी एकता, भाइचारा, नेतृत्व विकास र सामाजिक चेतनालाई थप मजबुत बनाएको छ। आगामी दिनमा पनि विद्यार्थी तथा युवाको हित, शिक्षा, प्रतिभा विकास तथा गोर्खाली भाषा र संस्कृतिको संरक्षणलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजक समितिले व्यक्त गरेको छ।
प्रतिवेदक : भुवन पौडेल, सचिव (IT सचिव), कोक्राझार जिल्ला समिति, आग्सु