
गोवालपाडा, ११ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) गोवालपाडा जिल्ला समितिको १९औँ द्विवार्षिक अधिवेशन आइतबार, ११ अक्टोबर २०२६ का दिन गोवालपाडा जिल्लाको दामरा आञ्चलिक समिति अन्तर्गत बाख्राखुटीस्थित गोर्खा भवनमा सम्पन्न भएको छ। जिल्ला समितिका भारप्राप्त सभापति श्री नारायण चापागाईँको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनले नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
अधिवेशनमा गोवालपाडा जिल्ला समितिअन्तर्गतका मरनोई, दूधनै, गोवालपाडा सदर, कुरुङ, दामरा र सिमलिटोला आञ्चलिक समितिका साथै दूधनै कलेज एकाइबाट करिब २०० जना छात्रछात्रा तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। विभिन्न आञ्चलिक समिति र कलेज एकाइका प्रतिनिधिहरूको उत्साहजनक उपस्थितिले अधिवेशनलाई थप महत्त्वपूर्ण बनाएको थियो।
कार्यक्रममा बाख्राखुटी गोर्खा समाजका सभापति श्री कृष्ण कार्कीले शिविरको उद्घाटन गर्नुभएको थियो भने आग्सुका प्राक्तन मूल–सचिव श्री केशव शर्माले प्रतिनिधि सभाको औपचारिक उद्घाटन गर्नुभएको थियो।
अधिवेशनको प्रमुख उपलब्धिका रूपमा नयाँ जिल्ला समितिको गठन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। प्रतिनिधिहरूको सहमतिअनुसार श्री नारायण चापागाईँ सभापतिमा निर्वाचित हुनुभएको छ। त्यसैगरी, उप-सभापतिहरूमा श्री सूरज छेत्री, श्री शिव शर्मा, श्री रवीन्द्र विश्वकर्मा, श्री कमल उपाध्याय र श्री विनोद छेत्री निर्वाचित हुनुभएको छ।
श्री मनोज ठकुरी मूल–सचिवमा निर्वाचित हुनुभएको छ भने सचिवहरूमा श्री वीरबहादुर विश्वकर्मा, श्री विनय नेवार, श्री नयन छेत्री, श्री देव तामाङ र श्री टिंकु श्रेष्ठ निर्वाचित हुनुभएको छ। सांगठनिक सचिवहरूमा श्री अजय नेवार, श्री कुशकुमार खाती, श्री भुवन नेवार र श्री राज गौतम निर्वाचित हुनुभएको छ। यसरी प्रचार सचिव, शिक्षा सचिव लगायत सहल सबै पदहरुमा अधिवेशनले सर्वसम्मत सहमतिका आधारमा नयाँ दरबिलो जिल्ला समिति चयन गरेको छ।
अधिवेशनको पर्यवेक्षणका लागि आग्सु केन्द्रीय उप-सभापति श्री दुर्गा बस्नेतको नेतृत्वमा केन्द्रीय पर्यवेक्षक टोली उपस्थित रहेको थियो। टोलीमा केन्द्रीय सचिव श्री विकास शर्मा, सांगठनिक सचिव श्री दीपक सुव्वा, प्रचार सचिव श्री त्रिलोचन भट्टराई तथा केन्द्रीय कार्यकारिणी सदस्य श्री सुरेश पाण्डे सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा आग्सु केन्द्रीय समितिका पूर्व उप-सभापति श्री रोहित लम्साल, केन्द्रीय समितिका कानुनी सल्लाहकार श्री रामकुमार श्रेष्ठ, केन्द्रीय सचिव श्री लोहित छेत्री, केन्द्रीय कार्यकारिणी सदस्यहरू श्री दीपक भट्टराई र श्री विनोद लम्सालको उपस्थिति रहेको थियो। त्यसैगरी, आग्सु मोरीगाउँ जिल्ला समितिका मूल–सचिव श्री दिनांक सेढाईँ पनि अधिवेशनमा उपस्थित हुनुहुन्थ्यो।
अधिवेशनले गोवालपाडा जिल्लामा संगठनलाई थप सुदृढ बनाउँदै विद्यार्थी तथा युवाहरूलाई संगठनमा आबद्ध गराउने, सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउने र गोर्खा समुदायको हकहितका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने दिशामा नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको छ। नयाँ समितिको सर्वसम्मत चयनले संगठनभित्रको एकता, सहकार्य र सामूहिक नेतृत्वको भावनालाई प्रतिबिम्बित गरेको छ।
नव निर्वाचित सभापति श्री नारायण चापागाईँको नेतृत्वमा गोवालपाडा जिल्ला समितिले आगामी कार्यकालमा संगठनको उद्देश्य प्राप्ति तथा विद्यार्थी र युवा समुदायको हितमा प्रभावकारी कार्य गर्ने अपेक्षा गरिएको छ।
प्रतिवेदक : नारायण शर्मा-कार्यवाहक सभापति, गोवालपारा जिल्ला समिति।