
केन्द्रीय समितिको स्पष्ट निर्देशनअनुसार बिस्वनाथ जिल्लाअन्तर्गत पर्ने राजगढ आञ्चलिक, गामिरी आञ्चलिक, गहपुर आञ्चलिक, बेहाली आञ्चलिक तथा करिबिल आञ्चलिक—यी सबै आञ्चलिक समितिहरूले आ–आफ्नो क्षेत्रभित्र स्वर्गीय गायक प्रशान्त तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन्। सांगीतिक क्षेत्रका एक प्रेरणादायी व्यक्तित्व, सरल स्वभावका लोकप्रिय गायक तथा लाखौँ युवाहरूका आदर्श रहनु भएका स्वर्गीय प्रशान्त तामाङको असामयिक निधनले समाजलाई गहिरो शोकमा डुबाएको सन्दर्भमा यी कार्यक्रमहरू अत्यन्तै भावुक, मर्यादित र अर्थपूर्ण बनेका थिए।
राजगढ आञ्चलिक समितिद्वारा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा स्थानीय सदस्यहरू, शुभेच्छुकहरू तथा समाजका विभिन्न तहका व्यक्तिहरूको सहभागिता रहेको थियो। दीप प्रज्वलन, मौन धारण तथा प्रशान्त तामाङको जीवन, संघर्ष र सांगीतिक योगदानसम्बन्धी विचार व्यक्त गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको थियो। गामिरी आञ्चलिक समितिले पनि आफ्नै परम्परा र भेकअनुसार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी उहाँको स्मृतिमा मौन धारणसहित भावनात्मक श्रद्धाञ्जली अर्पण गर्यो।
गोहपुर आञ्चलिक समितिद्वारा सम्पन्न कार्यक्रममा स्वर्गीय प्रशान्त तामाङले संगीतमार्फत समाजमा दिएको सकारात्मक सन्देश, युवाहरूलाई दिएको प्रेरणा र नेपाली गीत–संगीतको क्षेत्रमा पुर्याएको योगदानबारे स्मरण गरिएको थियो। सहभागीहरूले उहाँको सरल जीवनशैली, अनुशासन र कर्मशीलतालाई सम्झँदै उहाँ सधैँ संगीतप्रेमीहरूको मनमा जीवित रहने विश्वास व्यक्त गरे।
त्यसैगरी बेहाली आञ्चलिक समितिले पनि स्थानीय स्तरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी प्रशान्त तामाङको तस्बिरमा पुष्प अर्पण, दीप प्रज्वलन तथा मौन धारणमार्फत गहिरो सम्मान प्रकट गर्यो। कार्यक्रममा सहभागीहरूले उहाँको निधनले नेपाली संगीत जगतले अपूरणीय क्षति बेहोर्नु परेको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।
करिबिल आञ्चलिक समितिद्वारा सम्पन्न श्रद्धाञ्जली कार्यक्रम पनि अत्यन्तै भावुक वातावरणमा सम्पन्न भयो। स्थानीय सदस्यहरू तथा समर्थकहरूले स्वर्गीय प्रशान्त तामाङको स्मृतिमा मौन धारण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरे। उहाँको गीत, व्यक्तित्व र जीवन मूल्यले आगामी पुस्तालाई सदैव मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको थियो।
यसरी केन्द्रीय समितिको निर्देशनअनुसार बिस्वनाथ जिल्लाअन्तर्गतका सबै उल्लेखित आञ्चलिक समितिहरूले आ–आफ्नो भेक, संस्कार र मर्यादाअनुसार स्वर्गीय गायक प्रशान्त तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँप्रति गहिरो सम्मान, प्रेम र कृतज्ञता व्यक्त गरेका छन्। यी कार्यक्रमहरूले प्रशान्त तामाङ केवल एक गायक मात्र नभई समाजका लागि प्रेरणाको स्रोत भएको तथ्यलाई पुनः स्थापित गरेको छ।
प्रतिवेदक: उमेश शर्मा- प्रचार सचिव(IT Incharge) बिश्वनाथ जिला समिति, आग्सु।