All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #22
March 19, 2026

अखिल असम गोर्खा छात्र संघ, टंला आञ्चलिक समितिकाे कार्यकारिणी सभा सम्पन्न।

📅 March 19, 2026
✍️ AAGSU
🕒 12:06 AM

टंला, १८ मार्च २०२६ : अखिल असम गोर्खा छात्र संघ, टंला आञ्चलिक समितिको कार्यकारिणी सभा आज आञ्चलिक समितिको मुख्यालय दुलियापाढा स्थित छात्र निवासमा अत्यन्तै व्यवस्थित र सफलतापूर्वक सम्पन्न भयो। उक्त सभा संगठनको आगामी दिशा, कार्ययोजना तथा जिम्मेवारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको थियो।

उक्त सभा आञ्चलिक समितिका सभापति श्री सुरज कार्की ज्यूको सभापतित्वमा सम्पन्न भयो भने मूल सचिव श्री सञ्जय छेत्री ज्यूले सभाको उद्देश्य, आवश्यकता तथा आजको सभाको महत्वबारे विस्तृत रूपमा प्रकाश पार्नु भयो। उहाँले संगठनलाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउन कार्यकारिणी तहमा समय-समयमा यस्ता बैठकहरू आवश्यक रहेको कुरा जोड दिनु भयो।

सभामा मुख्य रूपमा शैक्षिक, सांगठनिक तथा सांस्कृतिक विषयहरूमा केन्द्रित भई विस्तृत छलफल सम्पन्न गरियो। शैक्षिक क्षेत्र अन्तर्गत विद्यार्थीहरूको हकहित, गुणस्तरीय शिक्षा तथा जागरूकता अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा विचार विमर्श भयो। सांगठनिक पक्षमा संगठनलाई अझ मजबुत, अनुशासित तथा सक्रिय बनाउने, नयाँ सदस्य विस्तार गर्ने, तथा नेतृत्व विकासमा जोड दिने विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरियो। त्यस्तै, सांस्कृतिक पक्ष अन्तर्गत गोर्खा समुदायको भाषा, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा पनि गहन छलफल भयो।

यसका साथै, आञ्चलिक समितिको वर्तमान कार्यकाल समाप्त हुँदा यस सन्दर्भमा आगामी दिनहरूमा नयाँ दर्बिलो समिति गठन गर्ने विषयमा पनि विस्तृत रूपमा छलफल सम्पन्न गरियो।

उक्त सभामा अखिल असम गोर्खा छात्र संघका सह. सांस्कृतिक सचिव श्री त्रिदेव विष्ट, उदालगुडी जिल्ला समितिका उपसभापति श्री किरण सिग्देल, कार्यकारिणी सदस्य श्री बिजु बराल तथा आञ्चलिक समितिका मुख्य सल्लाहकार श्री तयानाथ उपाध्याय ज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूले सभामा आफ्नो महत्वपूर्ण तथा प्रेरणादायी मन्तव्य व्यक्त गर्नु हुँदै संगठनको वर्तमान कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा व्यक्त गर्नुका साथै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा कार्य गर्न सुझाव तथा शुभकामना प्रदान गर्नु भयो।

सभाको अन्त्यतर्फ मूल सचिवद्वारा सभामा उठाइएका विषयहरू तथा प्रस्तावहरू औपचारिक रूपमा वाचन गरियो। तत्पश्चात सभापतिज्यूले आफ्नो मन्तव्य राख्दै सम्पूर्ण उपस्थित सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो र संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।

यसरी, आपसी सहकार्य, समन्वय र सकारात्मक सोचका साथ सम्पन्न उक्त कार्यकारिणी सभा संगठनको आगामी यात्राका लागि महत्वपूर्ण मार्गदर्शक बन्ने विश्वास लिइएको छ।

प्रतिवेदक: सञ्जय छेत्री, मूल सचिव। अखिल असम गोर्खा छात्र संघ, टंला आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top