All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #28
April 30, 2026

आग्सुको गरिमामय उपस्थिति र ऐक्यबद्धतामा असम गोर्खा सम्मेलन बाक्सा जिल्ला समितिको १७ औं त्रि-वार्षिक अधिवेशन भव्य रूपमा सम्पन्न

📅 April 30, 2026
✍️ AAGSU
🕒 12:05 AM

बाक्सा, २७ अप्रेल: उत्तर-पूर्वी भारतको एउटा विशिष्ट पहिचान र गौरवमय इतिहास बोकेको संगठन, असम गोर्खा सम्मेलन बाक्सा जिल्ला समितिको १७ औं त्रि-वार्षिक अधिवेशन हिजो दिनांक २६ अप्रेल २०२६, आइतबारका दिन भव्यता र ऐतिहासिक उत्साहका साथ सम्पन्न भएको छ। चाउलकाड़ा शाखा अन्तर्गत हस्तिनापुर गाउँ उन्नयन समितिको भवनमा आयोजित यस एकदिवसीय अधिवेशनमा जिल्लाभरिबाट ठुलो संख्यामा प्रतिनिधि र पर्यवेक्षकहरूको उपस्थिति रहेको थियो।
१९४३ ईस्वी सनको १५ मईमा दार्जिलिङको ऐतिहासिक रिङ सिनेमा हलमा गठित अखिल भारतीय गोर्खा लीगको हाँगाका रूपमा कार्य सुरु गरेको यस संगठनले असमको माटोमा अनेकौँ चुनौती, घात-प्रतिघात र उतारचढावपूर्ण ८३ वर्षको यात्रा तय गरिसकेको छ। सुरुमा राजनैतिक संगठनको रूपमा क्रियाशील रहे तापनि, तत्कालीन असमको परिस्थिति र गोर्खाहरूको छरपट्टिएको बसोबासलाई ध्यानमा राखी अग्रज बुद्धिजीवीहरूको दूरदर्शिताका कारण १९६६ ईस्वी सनको शोणितपुर जिल्लाको गड़पाल अधिवेशनले यसलाई पूर्ण रूपमा सामाजिक संस्थाको रूपमा रूपान्तरण गरेको थियो। आजसम्म यो संस्था असममा गोर्खाहरूको राजनैतिक, सामाजिक, आर्थिक, र सांस्कृतिक समस्या समाधान गर्न निरन्तर लागिपरेको छ र भविष्यमा पनि यो क्रम जारी रहने सङ्कल्प यस अधिवेशनले दोहराएको छ।
गत २०२२ ईस्वी सनमा तामुलपुर छुट्टै प्रशासनिक जिल्ला गठन भएपछि ३ अगस्त २०२२ मा असम गोर्खा सम्मेलन बाक्सा जिल्लाको तदर्थ समिति गठन भएको थियो। त्यसको ६ महिनाभित्रै, २४ फेब्रुअरी २०२३ का दिन बारापेटा स्थित दक्षिण खारिजा बिजनी हाइस्कुल प्राङ्गणमा एकदिवसीय अधिवेशन मार्फत पूर्णाङ्ग बाक्सा जिल्ला समिति गठन भएको थियो। सोही समितिले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी यो १७ औं त्रि-वार्षिक अधिवेशन आयोजना गरेको हो।नव गठित बाक्सा जिल्ला समिति सभापति नारायाण भण्डारी, कार्यकारी सभापति अर्जुन रिमाल र मूल सचिव आकाश पोख्रेल को नेतृत्वमा निर्विरोध चयन भए को छ।

अधिवेशन भव्य रूपमा सफल पार्नका लागि असम गोर्खा सम्मेलन बाक्सा जिल्ला समितिका सभापति श्री नारायण भण्डारी, कार्यकारी सभापति श्री अर्जुन रिमाल, र मूल सचिव श्री लेख गुरागाँञी तथा स्वागतकारिणी समितिका तर्फबाट सभापति श्री पृथि विलास भट्टराई, कार्यकारी सभापति श्री धर्म छेत्री, र मुख्य सम्पादक श्री हरि प्रसाद ढुङ्गेल लगायतका पदाधिकारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। आयोजक समितिले अधिवेशनलाई तन-मन-धनले सहयोग र परामर्श प्रदान गर्ने समस्त जातीय प्रेमी महानुभावहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।
यस ऐतिहासिक अधिवेशनको एउटा मुख्य आकर्षण युवा तथा विद्यार्थी शक्तिसँगको समन्वय र ऐक्यबद्धता रह्यो। कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) का असम राज्य तथा क्षेत्रीय नेतृत्वको गरिमामय उपस्थिति थियो। अधिवेशनमा छात्र संघको तर्फबाट बीटीसी क्षेत्रीय समितिका मूल-सचिव राजु सुवेदी, उपसभापति दीपेन्द्र कार्की, बाक्सा जिल्ला समितिका सभापति पारस पराजुली, मूल-सचिव एमकान्त पौडेल, र उपसभापति खिरोज दाहालको उपस्थिति रहेको थियो। यसैगरी, बाक्सा आञ्चलिक समितिका सभापति धर्म भण्डारी र मूल-सचिव चन्दन भुसालको पनि सक्रिय सहभागिता थियो। विद्यार्थी नेताहरूको उपस्थितिले अधिवेशनमा थप ऊर्जा प्रदान गर्नुका साथै जातीय एकता र भावी पुस्ताको संगठनप्रतिको आस्थालाई प्रस्ट पारेको छ। असमको माटोमा गोर्खाहरूको अस्मिता, अधिकार र समग्र विकासका लागि कोसेढुङ्गा साबित हुने विश्वास गरिएको यो अधिवेशन नयाँ कार्यसमिति चयन र महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै सफलतापूर्वक सम्पन्न भयो।

प्रतिवेदक: एमकान्त पौडेल-मूल-सचिव,बाक्सा जिला समिति ।

📤 Share this story
Scroll to Top