
बको,26 अप्रेल: सन् १९७६ मा स्थापना भएको ‘बको राजस्व चक्र गाउँ प्रधान संस्था’ले आफ्नो गौरवमय ५० वर्षे यात्रा पूरा गरेको अवसरमा आयोजित ऐतिहासिक स्वर्ण जयन्ती समारोह उत्साह र भव्यताका साथ सम्पन्न भएको छ। गत २५ र २६ अप्रिल, २०२६ (११ र १२ बोहाग) का दिन बन्दापारा जनता संघको प्रेक्षाहृहमा दुई दिने वर्णढ्य कार्यक्रमका बीच यो ऐतिहासिक क्षणलाई मनाइएको हो। यस दुई दिने कार्यक्रमअन्तर्गत आयोजित खुला सभामा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो, जसमा अखिल असम गोर्खा छात्र संघ (आग्सु ) कामरूप जिल्ला समितिका सभापति श्री गोविन्द शर्मा र सचिव श्री पंकज निरौलाले ‘विशेष सम्माननीय अतिथि’का रूपमा सहभागिता जनाउनुभएको थियो। कार्यक्रममा उहाँहरूको उपस्थितिले गोर्खा समुदाय र स्थानीय गाउँ प्रधान संस्थाबीचको सुमधुर सम्बन्ध र भाइचारालाई थप प्रगाढ बनाएको उपस्थित जनसमुदायले महसुस गरेका थिए।
यस ऐतिहासिक समारोहलाई भव्य रूपमा सफल बनाउन बको राजस्व चक्र गाउँ प्रधान संस्थाका भारप्राप्त सभापति श्री रबिन राभा र साधारण सचिव श्री नन्दधर बोडोले नेतृत्व प्रदान गर्नुभएको थियो। त्यसैगरी, स्वागत समितिका सभापति श्री बाबुल कलिता र साधारण सचिव श्री जितेन दास लगायत सम्पूर्ण समितिको अथक प्रयासले कार्यक्रमलाई निकै सुव्यवस्थित बनाएको थियो। विभिन्न समुदाय र स्थानीय जनताको बाक्लो उपस्थितिले बकोमा आयोजित यस स्वर्ण जयन्ती समारोहलाई एक अविस्मरणीय र ऐतिहासिक उत्सवको रूपमा स्थापित गरेको छ।
प्रतिवेदक: गोविन्द शर्मा-सभापति, कामरुप (ग्रामीण) जिल्ला समिति।