
डिमाकुची,27 अप्रेल: निखिल बोडो छात्र संघ (ABSU) को खाग्राबारी आंचलिक समितिद्वारा आयोजित ‘३१औं वार्षिक रञ्जालि बैसागु उत्सव २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। गत अप्रिल २७ (१३ बैसाग) का दिन बी.टी.आर. को उदालगुडी जिल्लास्थित खाग्राबारी जनता एम.ई. तथा हाई स्कुलको खेलमैदानमा आयोजित यस महान सांस्कृतिक पर्वले बोडो र अन्य समुदायबीचको आपसी भाइचारालाई अझ प्रगाढ बनाएको छ। रञ्जालि बैसागु बोडो जनजातिको एक प्रमुख र महान उत्सव हो, जसले नयाँ वर्षको आगमनलाई उत्साहका साथ स्वागत गर्दछ। यस ३१औं संस्करणमा बोडो संस्कृति, परम्परागत नृत्य, र भेषभूषाको उत्कृष्ट प्रदर्शन गरिएको थियो।
यस विशेष अवसरमा सदौ असम गोर्खा छात्र संघ (AAGSU) को डिमाकुची क्षेत्रीय समितिको एक प्रतिनिधिमण्डलले पनि उपस्थित भई सांस्कृतिक सद्भाव र एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। बोडो जनसमुदायको यस महान उत्सवमा सहभागी हुँदै गोर्खा छात्र संघका प्रतिनिधिहरूले आत्मीयतापूर्वक उत्सवको अवलोकन गर्नुका साथै सम्मान प्रकट गरेका थिए। उक्त उत्सवमा AAGSU डिमाकुची क्षेत्रीय समितिको तर्फबाट अध्यक्ष श्री विनोद लाम्साल, महासचिव श्री प्रकाश बुढाथोकी, उपाध्यक्ष श्री शिव क्षेत्री, शिक्षा सचिव श्री खगेन पाठक, स्वयंसेवक प्रमुख श्री कुमार सुवेदी, र सदस्य श्री कर्ण प्रधान सहितको एक बलियो र सशक्त टोलीको उपस्थिति रहेको थियो।
उहाँहरूको उपस्थितिले दुई समुदाय (बोडो र गोर्खा) बीचको ऐतिहासिक एकता र सांस्कृतिक आत्मीयतालाई थप मजबुत बनाएको छ। विभिन्न समुदायको उल्लेखनीय सहभागिता रहेको यस उत्सवले सांस्कृतिक आदानप्रदान मात्र नभई सम्पूर्ण बी.टी.आर. (B.T.R.) क्षेत्रमै शान्ति, सद्भाव र भाइचाराको सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ। आयोजक समितिले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
प्रतिवेदक: प्रकाश बुराथोकि- मूल-सचिव, डिमाकुची आञ्चलिक समिति।