All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #28
April 30, 2026

विद्यार्थीहरूलाई प्रोत्साहित गर्न आग्सु आम्रेङ-कपिली आञ्चलिक समितिद्वारा मइ १० को दिन भव्य पुरस्कार वितरण कार्यक्रम आयोजना हुने

📅 April 30, 2026
✍️ AAGSU
🕒 12:06 AM

आम्रेङ-कपिली, 29 अप्रेल: अखिल असम गोर्खा छात्र संघ (आग्सु), आम्रेङ-कपिली आञ्चलिक समितिको आयोजनामा आगामी १० मइ, २०२६ को दिन एक भव्य पुरस्कार वितरण कार्यक्रम सम्पन्न हुने भएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य आञ्चलिक समितिद्वारा सञ्चालित एच.एस.एल.सी. (HSLC) पूर्व-अन्तिम (Pre-Final) परीक्षा २०२५-२०२६ मा सहभागी विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गर्नु रहेको छ। पश्चिम कार्बी आङ्लोङ जिल्लास्थित लाम्बापाथरमा रहेको आग्सुको जिल्ला कार्यालयमा बिहान ९:०० बजेदेखि यो कार्यक्रम प्रारट हुनेछ।
विद्यार्थीहरूको मनोबल उच्च राख्न र उनीहरूलाई आगामी परीक्षाका लागि थप लगनशीलताका साथ तयारी गर्न प्रेरणा प्रदान गर्ने हेतुले यस कार्यक्रमको आयोजना गरिएको हो। आग्सु आम्रेङ-कपिली आञ्चलिक समितिका सभापति रोशन शर्मा र मूल-सचिव चन्द्र प्रसाद शर्माले यस कार्यक्रमलाई सफल बनाउन विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक-शिक्षिकाहरूलाई औपचारिक रूपमा निमन्त्रणा पठाइसकेका छन्। शिक्षा क्षेत्रमा गोर्खा विद्यार्थीहरूको प्रगति र उज्यालो भविष्य सुनिश्चित गर्न यस प्रकारका शैक्षिक तथा प्रवर्द्धनात्मक कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजक समितिको विश्वास छ।
यस गरिमामय कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकवर्ग लगायत समाजका विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरूलाई तोकिएको समय र स्थानमा उपस्थित भई विद्यार्थीहरूको हौसला बढाइदिन र कार्यक्रमलाई भव्य रूपमा सफल बनाइदिन आञ्चलिक समितिले हार्दिक अपिल गरेको छ।

प्रतिवेदक: रोशन शर्मा- सभीपति,आम्रेङ कपिलि आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top