
बेगिजान, अप्रिल 29: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बेगिजान आञ्चलिक समितिले हालै घोषणा भएको उच्च माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका कैयौं छात्र-छात्राहरूसँग भेटघाट गरी उनीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएको छ।
हिजो बेगिजान आञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरूले परीक्षामा उत्कृष्ट अंक हासिल गर्न सफल विद्यार्थीहरूसँग प्रत्यक्ष भेट गर्दै उनीहरूको मेहनत र उपलब्धिको प्रशंसा गरे। समितिले विद्यार्थीहरूलाई शुभकामना प्रदान गर्दै उनीहरूको उत्तर उत्तर प्रगतिको कामना पनि गरेको छ।
यस कार्यक्रममा बेगिजान आञ्चलिक समितिका सभापति राहुल प्रधान, उपसभापति नारायण प्रधान र बिश्वनाथ जिल्ला समितिका मूखपत्र सचिव गोपाल कोइराला लगायत समितिका अन्य सदस्यहरू सहभागी भएका थिए। उनीहरूले विद्यार्थीहरूसँग उनीहरूको अनुभव, भविष्यका योजना र शैक्षिक यात्राका बारेमा कुराकानी गरेका थिए।
बेगिजान आञ्चलिक समितिले यस्ता उत्कृष्ट विद्यार्थीहरूको सफलताले समुदाय र क्षेत्रकै मान बढाएको भन्दै उनीहरूलाई थप मेहनत र लगनशीलताका साथ अघि बढ्न प्रेरित गरेको छ। यस्तो सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास जगाउने र उनीहरूलाई भविष्यमा पनि यस्तै सफलता प्राप्त गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिवेदक: राहुल प्रधान-सभापति, बेगिजान आञ्चलिक समिति।